ट्रेण्डिङ्ग:
|राजनीतिक दल बन्ने प्रक्रियामा पहिलो महाधिवेशनमा जुट्यो रास्वपा|बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै|आइसले गत वर्ष १७४ डाका प्राप्तकर्ताहरूलाई देश निकाला गरेको तथ्य सार्वजनिक|ट्रम्पले भने कि अमेरिकी वार्ताकारहरू इरानसँग वार्ता गर्न सोमबार पाकिस्तान जानेछन्|कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै|निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल|विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सक्ने|कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

लक्जम्बर्गको नेपाली समुदायले मनायो तमु ल्होसार

लक्जम्बर्ग। गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार पर्व युरोपेली मुलुक लक्जम्बर्गमा पनि सम्पन्न भएको छ । तमु समाज लक्जम्बर्गको आयोजनामा लक्जम्बर्गमा आयोजित ‘तमु ल्होसार–२६१०’ विशेष कार्यक्रममा लक्जम्बर्गमा रहेका विभिन्न समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तमु समाज लक्जम्बर्गका अध्यक्ष सन्तोष गुरुङले विदेशी भूमिमा रहेर आफ्ना परम्परा, संस्कृति र पहिचान जोगाउन यस्ता कार्यक्रम आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

उहाँले यस्ता कार्यक्रमले लक्जम्बर्गमा रहेका गुरुङ तथा गैर–गुरुङ समुदायबीच आपसी सद्भाव र सामाजिक एकता मजबुत बनाउने उल्लेख गर्नुभयो । सात समुद्रपारिको भूमिमा हुर्कँदै गरेका नेपाली सन्तानलाई आफ्नै संस्कार, रीतिरिवाज र सांस्कृतिक मूल्यबारे जानकारी गराउन यस्ता पर्व कोशेढुंगा सावित हुने उहाँको भनाइ थियो ।

तमु समाज लक्जम्बर्गका सहसचिव चित्र गुरुङले आगामी वर्षहरूमा लक्जम्बर्गमा रहेका सम्पूर्ण नेपाली समुदायको सहभागिता सुनिश्चित गर्ने र समुदायभित्र रहेका प्रतिभालाई प्रस्फुटन गराउने साझा चौतारीका रूपमा तमु ल्होसारलाई विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि तथा समाजका अगुवाहरूले विदेशमा जन्मिएका नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए ।

लक्जम्बर्गको सेनेगनस्थित कोशेली रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र र समुदायमा सक्रिय नेपाली अग्रज तथा अगुवाहरूलाई तमु समाज लक्जम्बर्गले सम्मान गरेको थियो । तीनै पुस्ताका नेपालीहरूको सहभागिता रहेको कार्यक्रममा गुरुङ संस्कृति झल्कने परम्परागत पहिरन, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो ।

स्थानीय गुरुङ तथा अन्य समुदायका कलाकारहरूले प्रस्तुत गरेका नृत्य, गीत तथा मनोरञ्जनात्मक कार्यक्रमले समारोह थप रोचक बनेको थियो ।

‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ भन्ने मूल मन्त्रसहित यस वर्षको तमु ल्होछार–२६१० मनाइएको थियो । नेपाली पात्रोअनुसार हरेक वर्ष पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा तमु समाज लक्जम्बर्गले विशेष कार्यक्रम आयोजना गर्दै आएको छ ।

गुरुङ समुदायमा १२ जीवजन्तुको प्रतीक पात्रोअनुसार एक वर्ष समाप्त भई नयाँ वर्ष सुरु भएको खुसीयालीमा तमु ल्होसार मनाउने परम्परा रहेको छ । यही क्रममा यस वर्ष ‘सप्री ल्हो’ (सर्प वर्ष) को विदाई गर्दै ‘त ल्हो’ (घोडा वर्ष) को स्वागत गरिएको हो ।

तमु ल्होछारका अवसरमा परिवार, आफन्त र नातागोता भेला भई पूजापाठ, सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, नाचगान तथा परिकारको स्वाद लिने परम्परा रहेको छ ।

पुस १५ लाई सबैभन्दा लामो रातका रूपमा लिइँदै दिन लामो हुन थाल्ने विश्वाससँग जोडिएको यस पर्व प्रकृति पूजासँग पनि सम्बन्धित रहेको इतिहासविद्हरू बताउँछन् । यस पर्वले गुरुङ सभ्यता, संस्कृति र पहिचानलाई स्पष्ट रूपमा झल्काउने गरेको छ ।

  himalayanvoice.com | १५ पुष २०८२, मंगलवार १३:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online