कास्की । नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा चर्चित लुम्लेको कृषि अनुसन्धान निर्देशनालय यहाँको मुख्य पर्यटकीय स्थल हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने लुम्लेमा यही महिना नयाँ गन्तव्य थपिएको छ, कविता पार्क । पर्यटन राजधानी पोखराको मुख्य बजार शिवालयमार्ग घर भएका कवि/गीतकार विनोद गौचनको अग्रसरतामा ‘कविता गाउँ’ घोषित लुम्लेमा अहिले पृथक् खालको पार्क बनेको छ । कवि गौचनको परिवारको साथमा गाउँलेले पनि यसमा होस्टेमा हैंसे गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका–४ का बासिन्दा चिनबहादुर खत्रीले पार्कका लागि जग्गा दान गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका, वडा कार्यालयसहित गौचनका देशविदेशमा भएका शुभेच्छुक र आफन्तले आर्थिक सहयोग गरेका छन् । पर्यटकीय राजधानी पोखराबारे विनोद गौचनले दर्जनौँ चर्चित गीत/कविताको रचना गर्नुभएको छ । यद्यपि उहाँको स्मृतिमा पोखरामै कुनै कार्यक्रम भएका छैनन् । १२ वर्षअघि आफ्ना सिर्जना छाडेर भौतिक रूपमा अस्ताउनुभएका गौचन बाँचुञ्जेल पनि गाउँमै रमाउनुभयो । सिर्जना यात्रामा लामो समय उहाँले बिताएको कास्कीको लुम्लेमा भने उहाँको सम्झना भइरहन्छ ।
उहाँका दाजु विश्वमोहन गौचन चार बिस कटे पनि भाइको वाङ्मयिक योगदानलाई प्रवर्धन गर्ने योजनामा लागिरहनुभएको छ । “विनोदका अझै धेरै कविता÷गीत प्रकाशित हुन बाँकी छन्, पहिले निस्किएका किताब पनि बजारमा छैनन्,” विश्वमोहन भन्नुहुन्छ, “हामी उनका प्रकाशित र अप्रकाशित सबै रचना प्रकाशन गर्ने तयारीमा छौँ ।” पार्कमा गत वर्ष कवि विनोदको अर्धकदको सालिक बनिसकेको छ । पार्कसम्म जाने सिँढी, तारबार र रङरोगन पनि भइसकेको छ । कविता गाउँ लुम्लेका अध्यक्ष भरत देवकोटा कविता पार्क हेर्न कवि/साहित्यकार बेला बेलामा आउने गरेको बताउनुहुन्छ । “पार्क, बहुउद्देश्यीय भवन, पुस्तकालयसहितका संरचना बनाउने योजना छ । एक पटक पुग्नैपर्ने साहित्यिक एवं पर्यटकीय गन्तव्य बनाउन चाहन्छौँ,” उहाँ भन्नुहुन्छ ।
अन्तर्मुखी र गम्भीर स्वभावका सर्जक विनोदका ‘पोखरामा फूल फुल्दैन (२०५५)’ र ढुङ्गेसाँघुको मेलामा (२०६३) गरी दुई कविता सञ्चयन प्रकाशित छन् । २३ वर्षको हुँदा लेखेको ‘जति माया लाए पनि’ गीतले अरुण थापासहित उहाँको पृथक् पहिचान बनाइदियो । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फुल्यौँ तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ लगायतका चर्चित गीतका सर्जक उहाँले लामो समय अध्ययन, अवलोकन र अनुसन्धानबाट उपयुक्त साधना भूमि ठानी २०६५ साल चैत १५ गते कविता गाउँ घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया