ट्रेण्डिङ्ग:
|युएससीआईएसको ज्ञापनपत्र अनुसार ग्रिनकार्ड आवेदक स्वदेश फर्किनु पर्ने नियमले आप्रवासीलाई डरलाग्दो कानुनी पासोमा पार्दैछ|क्षतिग्रस्त रासायनिक ट्याङ्कीबाट विस्फोट वा चुहावट रोक्न प्रयासरत दक्षिणी क्यालिफोर्नियाका अधिकारीहरू|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो

पोर्चुगलमा नेपाली खाना–संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन

लिस्बन। पोर्चुगलमा चर्चित नेपाली सेफ टङ्क सापकोटाले नेपाली खाना, संस्कृति तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष अभियान सुरु गर्नुभएको छ ।

आफू पोर्चुगल आएको ३० वर्ष पूरा भएको अवसरमा सापकोटाले राजधानी लिस्बनमा सञ्चालन गरेको नेपाली रेस्टुरेन्ट ‘काजा नेपालीजा (नेपाली भान्सा घर)’ मार्फत ‘नेपालसम्मको यात्रा’ अभियान सुरु गर्नुभएको हो ।

अभियानअन्तर्गत नेपाल र पोर्चुगलका असहाय तथा अनाथ बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर (परोपकारी रात्रिभोज कार्यक्रम) पनि सञ्चालन गरिएको छ । वार्षिक कार्यक्रमका रूपमा सञ्चालन हुने उक्त रात्रिभोजमा नेपाली खाना, संस्कृति तथा नेपालको प्राकृतिक सौन्दर्य झल्किने दृश्य प्रस्तुति समावेश गरिनेछ । साथै नेपाली कलाकारद्वारा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि हुने जनाइएको छ ।

सेफ सापकोटाका अनुसार ‘नेपालसम्मको यात्रा’ अभियानको उद्देश्य पोर्चुगिज समुदायलाई नेपाली संस्कृति, परम्परा, खाना तथा नेपालको प्राकृतिक सौन्दर्यसँग परिचित गराउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्नु हो । कार्यक्रममा नेपाली परिकारसँगै सांस्कृतिक प्रस्तुति, संगीत, नृत्य तथा नेपालको दृश्य–प्रदर्शनी पनि समावेश गरिएको छ ।

उहाँका अनुसार नेपाली परिकार, स्वाद, नृत्य, संगीत र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गरी सहभागीलाई नेपाल भ्रमणको अनुभव दिलाउने प्रयास गरिएको छ । ‘हिमालयको देश’ नेपालको प्रकृति, संस्कृति र खानालाई नजिकबाट चिनाउने सांस्कृतिक यात्रा नै यस अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

रात्रिभोज (च्यारिटी डिनर) को मेनुमा दालभात, गुन्द्रुक, समोसा, मःम, कुखुराको विशेष परिकार, तामा–बोडी, खसीको मासु तथा अन्य परम्परागत नेपाली परिकार समावेश गरिएको छ । बागलुङबाट ल्याइएका सामग्री तथा पोर्चुगलमै उपलब्ध सामग्रीको संयोजनमा परिकार तयार गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा पोर्चुगलका विभिन्न सरकारी निकायका उच्च अधिकारी, व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ । उक्त रात्रिभोजमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल पनि सहभागी हुनुभएको थियो । उहाँले सापकोटाको अभियानले नेपाली खाना र संस्कृतिमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

कार्यक्रममा सांस्कृतिक भेषभूषामा सजिएका नेपाली कलाकार दुर्गा थापा, अर्जुन सोनामलगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

सेफ सापकोटाले नेपाललाई खाना, संस्कृति, परम्परा र पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको बताउनुभयो । “नेपाल संसारकै सुन्दर देशमध्ये एक हो। यहाँको संस्कृति, प्रकृति र खानाको आफ्नै विशेषता छ,” उहाँले भन्नुभयो, “पोर्चुगिज नागरिकले नेपाललाई नजिकबाट चिनून् र पर्यटक बढून् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।”

उहाँका अनुसार कार्यक्रममा सहभागीहरूले नेपाली खाना, परिकार, बनाउने शैली तथा त्यससँग जोडिएको संस्कृति र परम्पराबारे चासोपूर्वक जानकारी लिएका थिए । नेपाली आतिथ्यता, जीवनशैली र सांस्कृतिक अनुभवलाई समेत प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

सन् १९९६ मा पोर्चुगल पुगेका बागलुङका सापकोटाले लिस्बनमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । पाककलामा उत्कृष्ट योगदानका कारण उहाँले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गर्नुभएको छ । साथै, कोरोना महामारीका समयमा लिस्बनमा करिब १० हजार जनालाई निःशुल्क खाना खुवाउने अभियान पनि सञ्चालन गर्नुभएको थियो ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार ०८:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online