काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका निवर्तमान महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आफूपक्षीय नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै डा. राणाले सो कुरा बताएका हुन् । उनले पार्टीलाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भए पनि पार्टी नेतृत्व नै बाधक भएर उभिएको आरोप लगाए । राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको दाबी गरे ।
पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेन्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो । डा. राणाले राप्रपाको वर्तमान अवस्था ‘मक्किएको र चर्किएको घर’ सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको उल्लेख गरे ।
राणाले भने, “पाँच वर्षपहिले राजेन्द्र लिङ्देनलाई सघाएर अध्यक्ष बनाएका थियौँ । तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो । त्यो सुखको दिन होइन, दुःखको दिन हो आज । तर आफ्नो राजनीतिक यात्रामा जब आफूले बोकेको मूल्य र मान्यता आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ ।;
उनले भने, ‘मक्किसकेको, चर्किसकेको त्यो गाडी होस् वा घर होस्, हिम्मत गरेर अर्को बनाउने जमर्को गर्नुपर्छ । त्यही जमर्कोमा आज हामी लागेका छौँ । यो चार वर्ष मेरो राजनीतिक जीवनकै सबैभन्दा दुःखी रह्यो । मैले राप्रपालाई सही र एजेन्डा प्राप्तिको बाटोमा लग्न खोजेको थिएँ, आन्दोलनको नेतृत्व गरेको थिएँ, पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिएँ, तर ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन ।”
यसैबिच नेता डा. राणाको नेतृत्वमा एक सय ८३ जना नेताले राप्रपाबाट सामूहिक राजीनामाको घोषणा गरेका छन् । राणापक्षीय नेताहरूले बिहीबार काठमाडौँमा एउटा भेला गरी सो घोषणा गरेका हुन् ।
प्रतिक्रिया