ट्रेण्डिङ्ग:

प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणको तयारी भइरहेको छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणको तयारी भइरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले दुवै छिमेकी राष्ट्रबाट भ्रमणका लागि औपचारिक निमन्त्रण आइसकेको र नेपालका तर्फबाट समेत आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भ्रमणबारे सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री गुरुङले चीनमा हुने सांघाई को–अपरेशन अर्गनाइजेसन (एससिओ) को बैठकमा भाग लिएर फर्केपछि प्रधानमन्त्री ओली यही भदौ ३१ गतेदेखि दुई दिनका लागि भारत भ्रमणमा जानुहुने तयारी भइरहेको बताउनुभयो । मन्त्री गुरुङले प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी रहेको बताउनुभयो ।

यसैबीच भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषका सदस्य राष्ट्रहरूको फण्ड कोटामा ५० प्रतिशत वृद्धि गर्ने प्रस्तावको पक्षमा सहमति प्रदान गर्नुका साथै कोटा वृद्धि गर्दा नेपालका लागि थप हुने करिब ७८ दशमलव ४५ मिलियन एसडिआर मध्ये २५ प्रतिशत रकम चालु आर्थिक वर्षको विनियोजित बजेट बाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैङ्कको नाममा अर्थपत्र जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले मानवअधिकार पुरस्कार कोष सञ्चालन पहिलो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने, लिज फाइनान्स सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने, कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब ८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने तथा समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने, बालश्रम निषेध र नियमित गर्ने विधेयक २०८२ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्ने, मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले जानकारी दिनुभयो ।

  himalayanvoice.com | ४ भाद्र २०८२, बुधबार ०९:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online