यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता ६ जनाको सकुशल उद्दार

दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता भएका ६ जनाको सकुशल उद्दार गरिएको छ।

सोमबार बिहान हिमपहिरोमा परी ७ जनाको मृत्यु, ४ जना बेपत्ता, र ४ जना घाइते भएका थिए।

बेपत्ता र घाइतेहरूको खोजी तथा उद्दारका लागि सोमवार दिउँसो नै ना गाउँमा हेलिकप्टर पुगेको भए पनि खराब मौसमका कारण तत्काल उद्दार कार्य सम्भव भएको थिएन। त्यसपछि हेलिकप्टरमार्फत केही शेर्पा गाइडहरूलाई खोजी तथा उद्दारका लागि यलुङ रि हिमाल क्षेत्रमा पु¥याइएको थियो।

मंगलवार बिहान बेपत्ता र घाइतेमध्ये ३ जना विदेशी र ३ जना नेपाली गरी ६ जनाको सकुशल उद्दार गरी ना गाउँमा ल्याइएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले जानकारी दिनुभयो।

गत कार्तिक ११ गते विभिन्न समूहमा १५ जना नेपाली र विदेशी आरोहीहरू दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ क्षेत्रस्थित ५,६३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गएका थिए।

सोमबार बिहान ४ बजे बेसक्याम्पबाट प्रस्थान गरेको उक्त टोली बिहान ८ बजेतिर हिमालको चुचुरो पुग्ने क्रममा हिमपहिरोमा परेको थियो।

बेपत्ता र घाइतेहरूको खोजी तथा उद्दारका लागि सोमवार दिउँसो नै लामाबगरबाट नेपाली सेनाका ३५ जना, सशस्त्र प्रहरीका १० जना, र नेपाल प्रहरीका ५ जना को संयुक्त टोली यलुङ रि हिमालतर्फ गएको गणपति कटुवालले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×