ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

अमेरिका-नेपालबिच सांस्कृतिक सम्पत्ति संरक्षण सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथामका लागि नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । यस सम्झौताअन्तर्गत नेपाल सरकारद्वारा जारी भई म्याद ननाघेको निर्यात प्रमाणपत्रबाहेक नेपालबाट निश्चित पुरातात्त्विक तथा मानवजातीय सामग्री अमेरिकामा आयात गर्न अमेरिकी कानुनबमोजिम प्रतिबन्ध लगाइने व्यवस्था गरिएको छ ।

सम्झौताले पुरापाषाण युगको करिब इसापूर्व ३२,००० देखि इस्वी संवत् १७७० सम्मका पुरातात्त्विक सामग्री तथा १३औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्रीलाई समेटेको छ । यसमा धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक वस्तु र अमेरिकी सरकारले आगामी दिनमा प्रकाशित गर्ने निर्दिष्ट सूचीमा उल्लिखित पाण्डुलिपिहरू समेत समावेश छन् ।

यस सम्झौताले कलाकृतिको चोरीडकैती र अवैध व्यापारविरुद्ध द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउँदै नेपालका सांस्कृतिक निधिहरू भावी पुस्ताका लागि सुरक्षित रहने सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ । अवैध बजारमा अमूल्य सम्पदा पुग्न नदिई चोरीडकैतीका प्रेरक तत्त्व न्यूनीकरण गर्ने र सांस्कृतिक सम्पत्तिको जिम्मेवारीपूर्ण रखवारी प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

हस्ताक्षर समारोहमा राजदूत थम्पसनले यस सम्झौताले नेपालको सांस्कृतिक सम्पदाप्रति अमेरिकाको गहिरो सम्मानलाई उजागर गरेको बताउँदै अवैध ओसारपसार रोकथाम, कानुनसम्मत सांस्कृतिक आदानप्रदान र भावी पुस्ताका लागि सम्पदा जोगाउने साझा जिम्मेवारीमा बल पुग्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको सांस्कृतिक सम्पदाको जगेर्नाका लागि निरन्तर साझेदारीप्रति अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्दै विगत दुई दशकमा राजदूत सांस्कृतिक संरक्षण कोष र हालको सम्झौतामार्फत भएको सहकार्यले अवैध ओसारपसार रोकथाम र संरक्षणप्रतिको साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो ।

अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको सांस्कृतिक सम्पदा केन्द्रले यस्ता सम्झौताहरूको कार्यान्वयनमार्फत सांस्कृतिक सम्पदाको अवैध ओसारपसारविरुद्ध नेतृत्व गर्दै आएको छ । हालसम्म विश्वभर लागू भएका ३० ओटा यस्ता सम्झौतासहित अमेरिका सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी अगुवाका रूपमा रहेको जनाइएको छ ।

नेपालसँगको यो सम्झौता नेपालको सार्वभौमिकता र सम्पदाको सुरक्षाप्रति अमेरिकाको दीर्घकालीन प्रतिबद्धतामा आधारित रहेको छ । यसअन्तर्गत पछिल्ला दुई दशकमा २८ ओटा परियोजनाका लागि राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत ४५ लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिएको छ, जसमा ऐतिहासिक स्मारक तथा पाण्डुलिपि जीर्णोद्धार, सम्पदा स्थल जगेर्ना र लुम्बिनीमा नेपालको पहिलो आधुनिक संरक्षण प्रयोगशालाको स्थापना समेत समावेश छ ।

  himalayanvoice.com | २४ पुष २०८२, बिहीबार १३:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online