कोरियाको श्रम मन्त्रालयको ई–९ भिसामा कार्यरत श्रमिकलाई कम्पनी परिवर्तनको अधिकार प्रदान गर्ने प्रस्ताव

सोल । दक्षिण कोरियाली सरकारले ई–९ भिसा अन्तर्गत काम गरिरहेका विदेशी श्रमिकको रोजगारी प्रणालीमा सुधार गर्न छलफल सुरु गरेको छ । प्रस्तावित सुधार कार्यान्वयनमा आएमा ई–९ भिसा धारक श्रमिकले एक वा दुई वर्ष काम गरेपछि स्वतन्त्र रूपमा रोजगारदाता परिवर्तन गर्न पाउनेछन् ।

दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयले गठन गरेको विदेशी श्रमिक नीति सुधारसम्बन्धी कार्यदलमा भइरहेको छलफलअनुसार सरकारले हाल लागु रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) लाई थप श्रमिकमैत्री बनाउने दिशामा कदम अघि बढाएको हो । कार्यदलमा सहभागी अधिकारकर्मीहरूका अनुसार सरकार अहिले दुई वटा महत्त्वपूर्ण प्रस्तावमा गम्भीर रूपमा छलफल गरिरहेको छ, जसले विदेशी श्रमिकको श्रम अधिकारलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

हालको प्रणालीअनुसार ई–९ भिसा श्रमिकहरू प्रायः एउटै रोजगारदातासँग बाध्य भएर काम गर्नुपर्ने अवस्था छ । व्यवसाय बन्द हुनु वा गम्भीर श्रम कानुन उल्लंघन भएका अपवादात्मक अवस्थामा मात्र कार्यस्थल परिवर्तन गर्न पाइन्छ, यसले श्रमिकलाई कमजोर र असुरक्षित स्थितिमा राख्दै आएको भन्दै लामो समयदेखि प्रणाली सुधारको माग उठ्दै आएको थियो ।

कोरियामा अधिकांश ई–९ भिसा श्रमिक कृषि, मत्स्य, निर्माण तथा सेवा क्षेत्रमा कार्यरत छन् । यी क्षेत्रमा श्रम कठिन, कामको घण्टा लामो र पारिश्रमिक तुलनात्मक रूपमा कम हुने समस्या देखिँदै आएको छ । प्रस्तावित सुधारले श्रमिकलाई राम्रो कार्यस्थल रोज्ने अवसर प्रदान गर्ने, श्रम शोषण घटाउने तथा समग्र श्रम बजारलाई अझ स्वस्थ र सन्तुलित बनाउने विश्वास गरिएको छ ।

हाल दक्षिण कोरियामा ३ लाखभन्दा बढी ई–९ भिसा धारक विदेशी श्रमिक कार्यरत छन् ।

सरकारको यो कदम कार्यान्वयनमा आएमा विदेशी श्रमिकको मानव अधिकार, रोजगारीको स्वतन्त्रता र सम्मानजनक जीवन सुनिश्चित गर्ने दिशामा कोरिया एक कदम अगाडि हुनेछ । दक्षिण कोरियामा ईपीएसमार्फत आएका नेपालीको संख्या ७० हजार भन्दा बढी रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×