ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

मगर समुदायको मौलिक नाच घाटु अझै निरन्तर र जीवन्त छ घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाले गाउने तथा घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । शिकार खेल्न गएको विषयमा प्रवेश गर्दै गर्दा जुगे निकालिन्छ । जसमा पुरुषहरुले अभिनयमा साथ दिने गर्दछ ।

इमानसिं राना, पाल्पा। गाउँका महिलाहरु एकै स्थानमा जम्मा भएर गीत गाइरहेका छन् । चोलो, साडी, घलेकीको पहिरनमा रंगीविरंगी फूल र गरगहनामा सजिएका कन्या किशोरीहरु पाउमा रहेको खाँकरको छमछम आवाज निकाल्दै समान चालमा नाचिरहेका छन् ।

जिल्लाको निस्दी गाउँपालिकाको ग्रामीण बस्तीमा जारी रहेको घाटु नाचको दृश्य हो यो । सदियौंदेखि  जिल्लाको पूर्वी क्षेत्रका मगर समुदायमा नाचिदै  आएको घाटु नाच अझै जीवन्त छ । वैशाख पूर्णिमादेखि तीन दिनसम्म निकालिने घाटुनाच पाल्पाका अधिकांश स्थानमा लोप भए पनि निस्दीको केही बस्तीमा स्थानीयले निरन्तरता दिँदैआएका छन् । मगर समुदायले मौलिक घाटुलाई निरन्तरता दिदैआएका हुन् ।

घाटु नाचमा गुरुआमाले गीतको थालनी गरेपछि सहभागी महिलाले गाउन साथ दिने गर्दछ । यस क्षेत्रमा सती घाटु नाचाईदै आएको छ । राजाको निधन पश्चात रानी सती जाने भएकाले सती घाटु भनिएको हो । घाटुको गीतमा परशुराम राजा, यम्पावती रानीको कथावस्तुलाई आधार बनाई गाउँदै नाच्ने गरिन्छ । राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र मृत्युसम्मको कथालाई गीतबाट प्रस्तुत गरी घाटु नचाइने निस्दी –४, भोर्माका गुरुआमा ७४ वर्षीय पार्वती ठाडाले जानकारी दिनुभयो ।

घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाले गाउने तथा घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । शिकार खेल्न गएको विषयमा प्रवेश गर्दै गर्दा जुगे निकालिन्छ । जसमा पुरुषहरुले अभिनयमा साथ दिने गर्दछ । घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराईकन गाउनुपर्ने भएकाले जो केही गुरुमा बन्न नसक्दा हराउने हो कि भन्ने चुनौती पछिल्लो समय देखिएको छ । जसका कारण कुनै समय जिल्लाको पूर्वी क्षेत्रका अधिकांश स्थानमा प्रदर्शन गरिने घाटु संस्कृति अहिले केही स्थानमा सीमित देखिएको छ।

भोर्माका ७६ वर्षीय सर्मौती खाम्चाकाअनुसार प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीको दिन गीतको थालनी गरेर चण्डी पूर्णिमाको दिनदेखि तीन दिनसम्म निरन्तर घाटु नचाउने गरिन्छ । गीतमार्फत सम्पूर्ण देवी देवताको नाम लिएर मात्र घाटुको विधिवत् रुपमा सुरु गरिने खाम्चाले बताउनुभयो । पछिल्लो समय वैशाख पूर्णिमामा बाहेक अन्य समयमा पनि घाटु नचाउने गरिन्छ । ‘आमाहरुबाट सिकेर निरन्तर घाटुलाई निरन्तरता दिदै आएका छौं । वैशाख पूर्णिमादेखि तीन दिन सम्म मात्र घाटु नचाउँछौं’ उहाँले भन्नुभयो । घाटु नाच्न छाडेमा देवीदेवता रिसाउँछन् भन्ने मान्यता रहेकाले हरेक वर्ष नचाईदै आएको खाम्चाले बताउनुभयो । गाउँमा सबैको राम्रो होस्, कोही कसैलाई केही नहोस् भन्ने कामनासाथ घाटु नाचिने उहाँको भनाइ छ ।

कन्याहरु एक पटक घाटु नाचेपछि विहे नभएसम्म प्रत्येक वर्ष नाच्नु पर्छ भन्ने मान्यता रहेको छ । जसका कारण अभिभावकले घाटु नाच्न प्रेरित गर्दै आए पनि नयाँ पुस्ता सामेल हुन नचाहाने गरेको विगत ८ वर्षदेखि घाटु नाच्दै आउनु भएका किशोरी विष्णु माया ठाडा बताउनुभयो । समाज उज्ज्वल महिला समूह भोर्माका अध्यक्ष सुमित्रा ठाडाले कन्याहरु आफ्‌नै खर्चमा सजिएर घाटुमा सहभागी हुने गरेको बताउनुभयो । व्यवस्थापनको लागि प्रत्येक घरबाट खर्च जुटाएर संस्कृतिलाई निरन्तरता दिँदैआएको स्थानीय नरेश सुनारीले बताउनुभयो।

घाटुनाच महिला गुरुआमाको नेतृत्वमा नचाइदै आए पनि निस्दी –५, बेलौजीमा भने गुरुबा ७८ वर्षीय हुमबहादुर सुनारीको नेतृत्वमा घाटु प्रदर्शन भइरहेको छ । पछिल्लो वर्ष सुनारीकै नेतृत्वमा घाटुलाई निरन्तरता दिदैआएको स्थानीय युवा यमबहादुर सारुले जानकारी दिनुभयो । टोलमा गठन भएको संस्कृति जगेर्ना समितिमार्फत घाटुको संरक्षणका लागि पहल हुँदैआएको उहाँले बताउनुभयो।

निस्दी –७ को ज्यामिरेमा पूर्णिमाको दिन घाटु सेलाईसके पनि शुक्रबारदेखि निस्दीको वडा नं ३, ४, ५ का केही टोलहरुमा घाटु नाचको रौनक छाएको छ । पूर्णिमाको दिनबाट विधिपूर्वक सुरु गरिने नाच ३ दिनसम्म घाटुसरीलाई नचाएर सेलाउने गरिन्छ । यस वर्षको घाटुनाच आइतबार साँझ विधिवत् रुपमा पूजा गरी सेलाइएको छ ।

निस्दी–५ को बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडा, निस्दी–३ को दुनीडाँडा, ४ को भोर्मा, भिरपानी, वडा नं ७ को ज्यामिरे बतासामा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा, देविनगर, विरकोट लगाएतका स्थानमा घाटु नचाइन्छ । घाटु नचाइने स्थानहरुमा अवलोकनका लागि जानेहरुको उपस्थिति बाक्लो थियो ।

  himalayanvoice.com | २० बैशाख २०८३, आईतवार २३:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online