ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौँ । संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषय उठेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भाग लिने सदस्यहरुले लिपुलेकबारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको ‘कूटनीतिक नोट’लाई सकारात्मक कदमका रुपमा लिइएको धारणा राख्नुभयो ।

समितिका सदस्य प्रमेशकुमार हमालले वर्तमान सरकार कालापानी क्षेत्रको अतिक्रमित भूमि फिर्ता ल्याउनेतर्फ परिणाममुखी कूटनीतिक प्रयास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य भूमिका लिम्बू सुब्बाले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन संसदीय समितिको पहल आवश्यक रहेको बताउनुभयो ।

उहाँले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा उक्त भूमि नेपालकै भएको स्पष्ट छ भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुराबारे छिमेकीबाट आएको प्रतिक्रिया नेपाललाई मान्य नहुने धारणा राख्नुभयो ।

परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ ।

यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटनजस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ । लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेका विषयमा चीनलाई  आधिकारिक रूपमा जानकारी गराई सकिएको बेहोरा परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

समितिका सदस्य श्रीधर पोखरेलले नेपालको भूमि फिर्ता ल्याउन उच्चस्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्न आग्रह गर्नुभयो । सांसद शिवशङ्कर यादवले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले छिमेकीसँगको सम्बन्ध सुमधुर तुल्याउँदै व्यापार, पारवहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो ।

सांसद बिना गुरुङले पर्यटकीय नगरी पोखरालाई अझ सुन्दर र व्यवस्थित तुल्याउन सडक किनाराका पर्खालमा रङ्रोगन र ‘जेब्राक्रसिङ’को व्यवस्था गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

समितिका सभापति सुम्निमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे बैठकमा जानकारी गराउनुभयो । बैठकमा समितिको आन्तरिक कार्यविधिको मस्यौदा अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको थियो ।

बैठकपछि समितिका सचिव निर्मलादेवी लामिछानेले समितिको परिचय, मुख्य कार्यक्षेत्र, समितिको प्रभावकारिता अभिवृद्धि र चुनौती विषयमा प्रस्तुतीकरण दिनुभयो ।

उहाँले विधेयकबारे दफावार छलफल र प्रतिवेदन तयारी, मातहतका निकायका नीति, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापनको मूल्याङ्कन तथा निर्देशन, समितिका निर्देशन कार्यान्वयनको अवस्था र सार्वजनिक सम्पत्तिको रेखदेख तथा मूल्याङ्कनलगायत समितिको कार्यक्षेत्र रहेको स्पष्ट पार्नुभयो । समिति मातहत परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन् । रासस

  himalayanvoice.com | २४ बैशाख २०८३, बिहीबार ११:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online