काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उहाँले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास दिलाए ।
उहाँले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्नुभयो । स्वदेशी उत्पादनलाई समस्यामा पार्नेगरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने बताए ।
अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब रु १३ खर्ब ३० अर्ब रहेको, करिब रु सात खर्ब अपुग हुने तथ्य पेस गर्नुभयो । उहाँले सिर्जनशील कार्यक्रमका लागि आफूले स्रोत जुटाउने विश्वास दिलाउँदै चुनौतीलाई अवसरका रूपमा बदल्ने बताए ।
अर्थ मन्त्रालयले यसअघि नै मन्त्रालयहरूलाई बजेटको ‘सिलिङ’ तोकेर पठाइसकेको जानकारी दिँदै उहाँले त्यस आधारमा नै सम्बन्धित मन्त्रालयमार्फत समावेश गर्न सकिने विषय भए मन्त्रालयले सम्बोधन गर्ने स्पष्ट पारे ।
अर्थमन्त्रीले नियमित स्रोतबाट मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकिने भएकाले सरकारले ‘वैकल्पिक वित्तसम्बन्धी विधेयक’ तत्काल अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँले सो विधेयकलाई थप समृद्ध बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको आवश्यकता औल्याए ।
पाँचवटा ‘थिम’मा आगामी बजेट
अर्थमन्त्री वाग्लेले पाँच वटा ‘थिम’मा आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि अगाडि बढाइएको सुशासनको लाभांश वितरण गर्ने तरिकाले बजेट विनियोजन गर्ने विश्वास दिलाए ।
यस्तै, उनले अर्थतन्त्रको पुनः संरचना गर्नेगरी बजेट आउने उल्लेख गर्नुभयो । त्यस्तै, सम्पर्क सञ्जालको विस्तार एवम् सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, खानेपानी सडकजस्ता ‘डिजिटल’ नेटवर्कका लागि ठूलो लगानी गरिने जानकारी गराए ।
अर्थमन्त्रीले निजी क्षेत्रलाई पनि सडक पूर्वाधार निर्माणमा सहभागी गराउने योजना सरकारको रहेको उल्लेख गर्नुभयो । नेपालको सौम्य शक्तिको विस्तारमार्फत संस्कृति, पर्यटन र परराष्ट्र सम्बन्धको थप प्रवर्द्धन गर्ने, डायोस्परालाई आर्थिक विकासमा सहभागी गराउने गरी उक्त स्रोतको परिचालन गर्ने मन्त्रि वाग्लेको भनाइ छ ।
प्रतिक्रिया