भेडापालक कृषक हिमबहादुर छन्त्याल (देवान) का अनुसार उक्त गोठले वर्षा र हिमपातका बेला पाठापाठी तथा भेडाबाख्रालाई सुरक्षित राख्न ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको उक्त संरचना नमुना परियोजनाका रूपमा हेरिएको छ ।
सन्तोष गौतम , म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ ।
बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो ।
कुनै समय ३० वटासम्म गाईभैँसी पालेका धौलागिरि गाउँपालिका–३ मुनाका ६० वर्षीय यामप्रसाद पुनको गोठमा अहिले १० वटा मात्र छन् । “बाउबाजेले गर्दै आएको पशुपालनबाटै घरव्यवहार चलायौं, छोराछोरी पढायौं,” पुनले भन्नुभयो, “तर उमेर बढ्दै जाँदा गोठ लिएर लेकबेँसी गर्न कठिन भएकाले पशु संख्या घटाउनुपरेको छ।”
मुनाकै ८१ वर्षीय लिलबहादुर पुन पनि घुम्ती गोठ छोड्ने तयारीमा हुनुहुन्छ । बाल्यकालदेखि भेडाबाख्रा पालन गर्दै आउनुभएका उहाँले यही पेशाबाट ठूलो परिवार हुर्काउनुभयो । तर छोराहरू विदेश गएपछि गोठलाई निरन्तरता दिन समस्या भएको बताउनुहुन्छ । धौलागिरि –४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले पनि ५७ वर्षदेखि गर्दै आएको भैँसीपालन यस वर्षबाट बन्द गर्नुभएको छ । स्वास्थ्य समस्या र उमेरका कारण भैँसी बेचेर घरमै बस्न थालेको उहाँको भनाइ छ ।
धौलागिरिमा जेठदेखि पशुचौपायालाई लेक तथा बुकीतर्फ लैजाने र कात्तिकपछि बेँसी झार्ने परम्परा छ । यहाँका किसानहरूले ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने तथा विभिन्न खर्क क्षेत्रमा पशु चराउने गर्छन् । उच्च पहाडी र हिमाली क्षेत्रको जीवनशैलीसँग घनिष्ठ सम्बन्ध रहेको यो प्रणालीले दूध, घ्यू, दही, मोही, मासु तथा कृषि कार्यका लागि आवश्यक पशु उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७४ /७५ मा तयार पारेको वस्तुगत विवरण अनुसार १२ हजार ६० परिवारमध्ये ५३ प्रतिशत परिवारको मुख्य जीविकोपार्जन कृषि थियो । तर पछिल्ला वर्षहरूमा गाईगोरुको संख्या उल्लेख्य रूपमा घट्दै गएको तथ्यांकले देखाएको छ ।
धवलागिरी गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालका अनुसार चार हजार चार सय ११ गाई, दुई हजार आठ सय ४७ भैँसी, पाँच हजार नौ सय ८६ बाख्रा, दुई हजार एक सय ९५ भेडा, एक सय १९ बंगुर, १६ हजार दुई सय २६ कुखुरा, छ सय ७० खरायो तथा दुई सय ६६ घोडा–खच्चर छन् । वि.सं. २०७४ को सर्वेक्षणमा गाईगोरुको संख्या छ हजार सात सय ५६ रहेको थियो। यसले परम्परागत गाईपालन निरन्तर ओरालो लागिरहेको संकेत गर्छ ।
अधिकांश घुम्ती गोठ दर्ता नभएकाले यकिन तथ्यांक उपलब्ध नभएको दाहालले बताउनुभयो । चेतनाको कमी, प्रशासनिक पहुँचको अभाव, झन्झटिलो प्रक्रिया तथा भौगोलिक विकटताका कारण किसानहरू व्यवसाय दर्तामा आकर्षित हुन नसकेको उहाँको भनाइ छ । यसले गर्दा बीमा तथा सरकारी अनुदान कार्यक्रमबाट पनि धेरै किसान वञ्चित भएका अगुवा किसान भुवानी पौडेलले बताउनुभयो ।
घुम्ती गोठ घट्दै जाँदा स्थानीय पशुका आनुवंशिक स्रोतसमेत जोखिममा परेका छन् । लिमे र पारकोटे जातका भैँसी, पहाडी गाई, सिनाल र खरी जातका बाख्रा तथा बरुवाल र भ्याङलुङ जातका भेडा–बाख्रा लोप हुने अवस्थामा पुगेका धवलागिरी गाउँपालिका–२ खोरीयाका दलबहादुर रानाले बताउनुभयो ।
यद्यपि गाउँपालिकाले घुम्ती गोठ संरक्षण र व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । उपाध्यक्ष रेशम पुनमगरका अनुसार किसानलाई त्रिपाल, सोलार बत्ती लगायतका सामग्री वितरण गरिएको छ । गत आर्थिक वर्षमा वडा नम्बर ५ मल्कवाङको खालीखोलामा रु. आठ लाखको लागनमा मा पाँच सयभन्दा बढी भेडाबाख्रा अट्ने क्षमता भएको घुम्ती गोठ निर्माण गरिएको थियो ।
भेडापालक कृषक हिमबहादुर छन्त्याल (देवान) का अनुसार उक्त गोठले वर्षा र हिमपातका बेला पाठापाठी तथा भेडाबाख्रालाई सुरक्षित राख्न ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको उक्त संरचना नमुना परियोजनाका रूपमा हेरिएको छ ।
त्रिभूवन विश्वविद्यालय वन विज्ञान संकायका प्राध्यापक डा राजेशकुमार राईका अनुसार जलवायु परिवर्तन, वन्यजन्तुसँगको द्वन्द्व, सामाजिक संरचनामा आएको परिवर्तन, शिक्षा तथा वैदेशिक रोजगारको प्रभावले घुम्ती गोठ प्रणाली कमजोर बन्दै गएको हो । उहाँले पशुजन्य उत्पादनको ब्रान्ड विकास, स्थानीय पर्यटनसँग एकीकरण तथा जैविक उत्पादनको बजार विस्तार गर्न सके उच्च पहाडी अर्थतन्त्रलाई नयाँ दिशा दिन सकिने बताउनुभयो ।
परम्परागत ज्ञान, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको घुम्ती गोठ प्रणाली संरक्षणका लागि तथ्यांक संकलन, किसानमैत्री कार्यक्रम, व्यवसाय दर्ता अभियान र प्रोत्साहनमूलक योजनामा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । धवलागिरीको पहिचान बनेको गोठ प्रणालीसँगै स्थानीय पशु सम्पदा र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञान संरक्षण, ब्यवस्थित र ब्यवसायिक बनाउन कार्यक्रम केन्द्रित गरेको उहाँको भनाई छ । रासस

