वीरगञ्ज नाकाबाट ११ महिनामा २ खर्ब ९ अर्बको इन्धन आयात

वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष ०८२/०८३ को जेठ मसान्त सम्ममा २ खर्ब ९ अर्ब ९३ करोड मूल्य बराबरको इन्धन आयात भएको छ । 

बिगत केही समय यता मध्यपूर्वी देशहरूमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा ३५ अर्ब ५३ करोड बढीको इन्धन आयात वीरगञ्ज नाकाबाट भएको भन्सार तथ्याङ्कले देखाएको छ । 

गत आर्थिक वर्ष ०८१÷०८२ मा वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब ४० करोड मूल्य बराबरको इन्धन आयात भएको थियो । 

वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्त सम्म १ खर्ब १९ अर्ब ७४ करोड मूल्य बराबरको डिजेल आयात भएको छ भने सो अवधिमा ४१ अर्ब ५९ करोड मूल्य बराबरको पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । 

त्यसैगरी साउन देखि जेठ  मसान्त सम्म वीरगञ्ज नाकाबाट २८ अर्ब ७२ करोड मूल्य बराबरको खाना पकाउने एल.पी ग्याँस आयात भएको छ भने सो अवधिमा २१ अर्ब ३० करोड मूल्य बराबरको हवाई इन्धन आयात भएको छ ।

त्यसैगरी वीरगन्ज नाकाबाट ३७ करोड मूल्य बराबरको मट्टितेल आयात भएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो । 

गत वर्षको तुलनामा इन्धन आयात मध्ये एल पी ग्याँस आयात कम भएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा ४ अर्ब ६३ करोड मूल्य बराबरको खाना पकाउने एल पी ग्याँसको आयात कम भएको भन्सार तथ्याङ्कले देखाएको छ । 

वीरगञ्ज नाकाबाट गत वर्षको १० महिनामा ३३ अर्ब ३५ करोडको एल पी ग्याँस आयात भएको थियो । मध्यपुर्वी देशहरूमा उत्पन्न तनावका कारण डिजेल, पेट्रोल लगायतका इन्धनहरूको आयातमा कमी नआएको भएपनि ग्याँसको आयात भने घटेको तथ्याङ्कले देखाएको छ ।

इन्धनहरूको आयातबाट चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज भन्सारले ७३ अर्ब ७२ करोड राजश्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×