वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष ०८२/०८३ को जेठ मसान्त सम्ममा २ खर्ब ९ अर्ब ९३ करोड मूल्य बराबरको इन्धन आयात भएको छ ।
बिगत केही समय यता मध्यपूर्वी देशहरूमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा ३५ अर्ब ५३ करोड बढीको इन्धन आयात वीरगञ्ज नाकाबाट भएको भन्सार तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्ष ०८१÷०८२ मा वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब ४० करोड मूल्य बराबरको इन्धन आयात भएको थियो ।
वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्त सम्म १ खर्ब १९ अर्ब ७४ करोड मूल्य बराबरको डिजेल आयात भएको छ भने सो अवधिमा ४१ अर्ब ५९ करोड मूल्य बराबरको पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।
त्यसैगरी साउन देखि जेठ मसान्त सम्म वीरगञ्ज नाकाबाट २८ अर्ब ७२ करोड मूल्य बराबरको खाना पकाउने एल.पी ग्याँस आयात भएको छ भने सो अवधिमा २१ अर्ब ३० करोड मूल्य बराबरको हवाई इन्धन आयात भएको छ ।
त्यसैगरी वीरगन्ज नाकाबाट ३७ करोड मूल्य बराबरको मट्टितेल आयात भएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।
गत वर्षको तुलनामा इन्धन आयात मध्ये एल पी ग्याँस आयात कम भएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा ४ अर्ब ६३ करोड मूल्य बराबरको खाना पकाउने एल पी ग्याँसको आयात कम भएको भन्सार तथ्याङ्कले देखाएको छ ।
वीरगञ्ज नाकाबाट गत वर्षको १० महिनामा ३३ अर्ब ३५ करोडको एल पी ग्याँस आयात भएको थियो । मध्यपुर्वी देशहरूमा उत्पन्न तनावका कारण डिजेल, पेट्रोल लगायतका इन्धनहरूको आयातमा कमी नआएको भएपनि ग्याँसको आयात भने घटेको तथ्याङ्कले देखाएको छ ।
इन्धनहरूको आयातबाट चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज भन्सारले ७३ अर्ब ७२ करोड राजश्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

