काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज राति ८ः३० मतदान हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि राति ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको हो ।
संशोधित तालिका अनुसार आजै दिउँसो ३ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने साझ ५ बजेसम्म दाबी–विरोधका लागि समय दिइएको थियो ।
आयोगका अनुसार बेलुका ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने साझ ६ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र अन्तिम नामावली प्रकाशन भएलगत्तै साझ ६ः४५ बजेदेखि ‘मौन अवधि’ सुरु हुने छ ।
रास्वपाको चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् ।
मतदान सुरु भएको ४ घण्टामा मतदान प्रक्रिया सकिने आँकलन रहेको र मतदान सकिएको २ घण्टामा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभयो ।
दोस्रो चरणको थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने केन्द्रिय निर्वाचन आयोगले जनाएको छ ।
रास्वपाको संशोधित विधान अनुसार १ सय ५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । जसमध्ये ९९ जना निर्वाचित हुने छन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, ७ जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन् ।
सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया भइरहेको छ ।

