गर्मीका कारण वीरगञ्जका विद्यालय ४ दिनका लागि बन्द

वीरगञ्ज । तराई मधेशका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकाले भोली असार ११ गते बिहीबारदेखि असार १४ गतेसम्म नगर क्षेत्रका विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । 

गर्मीको कारण पठनपाठन प्रभावित भएपछि वीरगञ्ज महानगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाले आज साँझ सूचना जारी गर्दै बिहीबार देखि आइतबारसम्म नगर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो । 

अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध भई आएकाले वर्षे बिदाबाट कट्टा हुने गरी असार ११ र १२  गते बिदा दिने तथा शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले विद्यालय बन्द रहने लामिछानेले कताउनुभयो ।

सूचना अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय, १२ कक्षा सम्म पढाई हुने कलेज, विद्यालय तथा मन्टेश्वरी एवम् प्रारम्भिक बाल विकास केन्द्रहरू आइतबार सम्म बन्द भएका छन् ।  

अब वीरगन्जका विद्यालय असार १५ गते सोमबारदेखि सञ्चालन हुने भएका छन् ।

विगत केही समय यता बारा, पर्सा, रौतहटसहित मधेश प्रदेशमा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×