बाल्टिमोर । मेरिल्याण्ड राज्य संसदका लागि डिस्ट्रिक्ट ८ को डेमोक्रेटिक प्राइमरीमा नेपाली मूलका डा. ह्यारी भण्डारी विजयी भएका छन्। निबर्तमान स्टेट डेलिगेट्स भण्डारीले ४,१२८ मत ल्याएर पहिलो स्थानसहित विजयी भएका हुन्।
यद्यपी सम्पूर्ण मतगणनाको परिणाम आउन बाँकीनै छ र औपचारिक घोषणा हुन पनि बाँकी नै छ। अब उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा रिपब्लिकन उम्मेदवारको सामना गर्नुपर्नेछ। नोभेम्बरमा विजयी भएमा उनले मेरिल्याण्ड राज्य संसदमा तेस्रोपटक प्रतिनिधित्व गर्नेछन्।
सन् २०१८ मा मेरिल्याण्डको पहिलो नेपाली अमेरिकी स्टेट लेजिस्लेटर बनेर भण्डारीले इतिहास रचेका थिए। उनी शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, र श्रमिक तथा श्रमजीवी परिवारका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन्। समुदायसँगको निरन्तर संवाद र नीति निर्माणमा सक्रिय सहभागिताका कारण उनी अनुभवी र प्रभावशाली नेताका रूपमा स्थापित छन्।
डा. भण्डारीले भने, “यो डिस्ट्रिक्ट अत्यन्तै चुनौतीपूर्ण क्षेत्र थियो। १२ वर्षमा मैले यसलाई फ्लिप गरेको थिएँ। यो डिस्ट्रिक्टमा जनतासँग जोडिन मैले कडा मिहिनेत गरिरहेको छु। यसलाई ‘ब्लु’ बनाउन कडा मिहिनेतका साथ काम गरेँ। प्रारम्भिक समर्थनका लागि म सम्पूर्ण मतदाता, स्वयंसेवक, परिवारजन र नेपाली अमेरिकी समुदायप्रति आभार व्यक्त गर्छु। अझै ‘मेल-इन’ मतपत्रको गणना बाँकी नै छ। सम्पूर्ण मतगणना नसकिँदासम्म मेरा प्रतिस्पर्धीहरूको सम्मानका लागि म आफैँलाई विजेता घोषणा गर्न चाहन्न।”
“यो मेरो मात्र नभई समुदायको शक्ति, आप्रवासीहरूको योगदान र जनसेवाप्रतिको प्रतिबद्धताको प्रमाण पनि हो। यहाँ नेपाली समुदायको सङ्ख्या सयौँमा मात्र भए तापनि यस क्षेत्रका आम जनताले मलाई पूर्ण सहयोग गर्नुभयो। नोभेम्बरमा हुने आम निर्वाचनतर्फ अगाडि बढ्दै गर्दा जनताको विश्वास र सेवा गर्ने मेरो सङ्कल्पलाई अझ बलियो बनाउन चाहन्छु। म निरन्तर कर्म गरिरहनेछु। संसारभरका नेपालीहरू हाम्रा दाजुभाइ हुन् भन्ने मूलमन्त्रका साथ जहाँ परे पनि, जुनसुकै देशमा रहेका नेपालीलाई दुःख पर्दा साथ दिन म सधैँ तत्पर रहनेछु,” डा. भण्डारीले भने।

