तीन बुँदे सहमतिपछि इलामका ५३ चिया उद्योग खुल्ने

इलाम। नेपाली चियाको भारत निर्यातमा समस्या आएपछि बन्द भएका इलामका ५३ वटा चिया उद्योग पुनः सञ्चालन हुने भएका छन्।

सूर्योदय नगरपालिकामा भएको छलफलमा तीन बुँदे सहमति भएपछि आगामी शुक्रबारदेखि उद्योग सञ्चालन गर्ने निर्णय भएको हो।

सूर्योदय नगरपालिका चिया समस्या समाधान समितिका अध्यक्ष पेमा उगेन लामाको अध्यक्षतामा आयोजित छलफलमा कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बराल, सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष ज्ञानु लिम्बूलगायत जनप्रतिनिधि तथा उद्योगीहरूको सहभागिता रहेको थियो।

छलफलमा भारत निर्यात हुन नसकी गोदाममा थन्किएको चिया भण्डारणका लागि नगरपालिकाले भण्डारण कक्ष व्यवस्थापन गर्ने, निर्यात सहज नहुन्जेल केही समय किसानको भुक्तानी उद्योगले बाँकी राख्ने तथा चियाको गुणस्तर सुधारका लागि विषादी पूर्णरूपमा नियन्त्रण गरी गुणस्तर व्यवस्थापनमा जोड दिने सहमति भएको कार्यवाहक नगर प्रमुख बरालले जानकारी दिनुभयो।

नगरपालिकाभित्रका उद्योगमा हाल करिब १० लाख किलोग्राम अर्थोडक्स चिया मौज्दात रहेको छ। निर्यात सहज नहुन्जेल उक्त चिया भण्डारण गर्न नगरपालिकाले व्यवस्थित कक्षको व्यवस्था गर्ने भएको छ। एक सिजनमा उत्पादन हुने करिब ३० लाख किलोग्राम चिया भण्डारण गर्न सक्ने व्यवस्था मिलाउन नगरपालिका तयार रहेको जनाइएको छ।

भण्डारण गरिएको चियाको सुरक्षाको व्यवस्था पनि नगरपालिकाले गर्ने भएको छ। यसका लागि आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा उद्योगीहरू समेत सहभागी समिति गठन गरिएको छ। उक्त समितिले एक साताभित्र भण्डारण कक्ष व्यवस्थापन गर्ने चिया समस्या समाधान समितिका संयोजक लामाले बताउनुभयो।

बजार सहज भई चिया निर्यात पुनः नियमित नभएसम्म किसानको भुक्तानी स्थगित गर्ने सहमति पनि भएको छ। साथै, विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादनमा सबै पक्ष लाग्ने प्रतिबद्धता जनाइएको छ।

कार्यवाहक नगर प्रमुख बरालले चियाको गुणस्तर कायम नभएसम्म निर्यातमा समस्या दोहोरिरहने भएकाले विषादी नियन्त्रण र गुणस्तर सुधारमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो। उहाँले तीनै तहका सरकारले चिया निर्यातको समस्या समाधानका लागि पहल गरिरहेको अवस्थामा किसान र उद्योगी पलायन हुन नदिन उद्योग सञ्चालनको वातावरण बनाइएको उल्लेख गर्नुभयो।

संघीय सरकारले समेत चिया क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ। उद्योग बन्द भएपछि सूर्योदय क्षेत्रका केही किसानले झापाका सीटीसी चिया उद्योगमा हरियो पत्ती बिक्री गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×