मध्ये रातमा जोगीको फेरी सङ्गै
गुन्ज्यमान भएको मन्त्रोच्चारण बनी
नआएको धेरै भो तिमी
ओ कविता।
झिसमिसे बिहानी सङ्गै
रेडियोको नेपालको धार्मिक धून
अनि ॐ जय शिव शङ्कर शम्भो.. आरतीसङ्गै
देउताथानमा ममता भाकेर आमाले जलाएको
एक जोर सिङ्के धूप र
छिमेकी डिकि भाउजुले ॐ मणि पद्मे हुँ
मन्त्र जप्दै बालेको छेसाङको धूप वासना बनी
नआएको धेरै भो तिमी
ओ कविता।।
काँधभरी पुस्तकको झोला बोकी
उज्यालो भविस्य पढ्न गएका छोराछोरी
डोकोभरी साग सब्जी र
थाप्लोभरी जिम्मेवारी बोकी
हाट भर्न गएको बा आमा बनी
नआएको धेरै भो तिमी
ओ कविता।।
राताम्मे पश्चिम क्षितिजबाट
लुकेर छिरेको उज्यालो
दिनभरी चरनबाट फिरेको
माउ बाख्रो भेटेर आगनमा उफ्रेको पाठो
गोठमा थुम्के हानीहानी दूध खाइरहेको बाच्छो
र साझ कीर्तनमा जाने हतार बनी
नआएको धेरै तिमी
ओ कविता ।।
म पागल छु
म शून्य छु
म अस्तित्वहीन छु तिमी बिना
मेरो जिवित मृत्युको मलामी बनी
नआएको धेरै भो तिमी
ओ कविता।।
दिपेन्द्र आचार्य
पशुपतिनगर
प्रतिक्रिया