भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौँ । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु भएको छ। अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा जारी दुई दिने प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गर्नुभयो।

प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली चेसको विकासमा अखिल नेपाल बुद्धिचाल सङ्घको भूमिकाको प्रशंसा गर्नुभयो। अखिल नेपाल बुद्धिचाल सङ्घको स्थापनामा रहेको भूमिका तथा नेपाली बुद्धिचालमा सक्रिय नेपाल बुद्धिचाल सङ्घका पूर्व उपाध्यक्ष सुबोधराज सेर्पालीको उल्लेख्य भूमिका थियो।

उद्घाटन कार्यक्रममा पूर्व गृहमन्त्री शक्ति बस्नेत, नेपाल उसु सङ्घका महासचिव तथा अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष नवराज ढुङ्गाना र दिवङ्गत भक्त रानाको धर्मपत्नी वर्षा राना मगरले मन्तव्य राख्नुभयो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य दोङ, प्रदेश सभा सदस्य युवराज चौलागाई र राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाश कुसारीको उपस्थिति थियो। कार्यक्रम अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष तथा नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको थियो।

दुई दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता छ। प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु हुनुहुन्छ।

प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी दुई लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ। बिहीबार सकिने प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ।

रोयल एयरपोर्ट होटेल, काठमाडौँमा जारी प्रतियोगिताको ३ चरणको समाप्तिमा शीर्ष वरियताका खेलाडी सुमन लामा, नबिन तण्डुकार, उमेश राई र दीपक महर्जन लगायतले ३ अङ्क जोड्दै अग्रता कायम गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×