काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको मिति तोक्न ढिलाइ भइरहेको भन्दै पार्टीका महिला नेत्रीहरूले आज काठमाडौँमा सामूहिक भेला गरेका छन्।
नेत्री कमला पन्तको संयोजकत्वमा भएको भेलामा सहभागी नेत्रीहरूले पार्टी नेतृत्वले विशेष महाधिवेशनको मिति तत्काल तोक्नुपर्ने माग राखेका छन्।
उनीहरूले मिति तोक्ने विषयमा केन्द्रीय कार्यसमिति ढिलो हुँदा संगठनभित्र असन्तोष बढेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
भेलामा काठमाडौँमा रहेका साथै बाहिरी जिल्लाबाट आएका महाधिवेशन चाहने महिला नेत्रीहरूको उल्लेखनीय सहभागिता थियो।
नेत्रीहरूले वर्तमान केन्द्रीय समितिको अवधि लम्ब्याउँदै महाधिवेशन चुनावपछि सार्ने योजना बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरूले आसन्न निर्वाचनमा पुरानो नेतृत्व र नीतिका साथ होइन, नयाँ नेतृत्व र नयाँ एजेन्डासहित जनतासमक्ष जानुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक गत असोज २८ गतेदेखि निरन्तर जारी छ र अब कात्तिक २९ गते शनिबार बस्ने छ।

