नेपाली काँग्रेसको सदस्यता नवीकरण प्रणाली मंसिर २९ को मध्यरात सम्म कायम रहने

काठमाडौँ। नेपाली काँग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरात सम्म मात्र सदस्यता नवीकरण प्रक्रिया र प्रणाली खुल्ला रहने भएको छ ।

महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो।

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘मंसिर २९ गते राति १२ बजे सिस्टम लक हुन्छ । त्यसपछि जिल्लाले ईन्ट्री गर्न पाउँदैनन्।’

समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ ।

समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने सदस्य रसाइलीले जानकारी दिए ।

‘आइतबार जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था, तलबाट प्रतिवेदन लिएर समीक्षा गरेर आगामी कदमबारे निर्णय गर्छौँ,’ उनले भने ।

समितिले यसअघि गरिएको परिपत्र अनुसार नयाँ क्रियाशील सदस्यता वितरण भए-नभएको बारे जानकारी लिने पनि निर्णय गरेको छ । जसका लागि केन्द्रीय कार्यालयका सात जना सहसचिवहरू खटाउने निर्णय गरिएको छ ।

‘नयाँ क्रियाशील सदस्यता फारम २५ प्रतिशत र ७५ प्रतिशत दुई पटक गरी पठाएका छौँ । परिपत्र गर्दा हामीले वडा, गाउँनगर, प्रदेश क्षेत्रीय सभापतिहरूको बैठक राखेर वितरण गर्ने भनेका छौँ,’ रसाइलीले भने, ‘त्यो कार्यान्वयन भइरहेको छ कि छैन भनेर सचिवालयबाट सात जना सहसचिवहरूले चेक गर्नुहुन्छ। हामी पनि चेक गर्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×