निजी क्षेत्र अझै लगानीका लागि ढुक्क छैन : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । 

बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामुहिक पहल कार्यक्रममा उहाँले लगानीको वातावरण नबनेको भन्दै सरकारलाई वातावरण बनाउन आग्रह गर्नुभयो ।

उहाँका अनुसार समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको सकेको छैन ।

ढकालले गलत काम गर्नेहरुमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का बढेको बताउनुभयो । उहाँका अनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन ।

लगानी नभइ रोजगारी हुँदैन । रोजगारी नभइ आयस्तरमा सुधार हुँदैन । आयस्तर बढ्न सकेन भने मानव विकासमा अपेक्षाकृत सुधार पनि हुन सक्दैन । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजस्व बढ्नुपर्छ । राजस्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक छ ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘‘पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपियाँले घाटामा छ । बैंकहरु करिब ११ खर्ब रुपियाँ लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहँदैन । त्यसैले राजश्वको रकमले कर्मचारीको तलब भत्ता पनि नपुग्ने अवस्था आएको छ ।

पूर्वाधारमा लगानी हुन सकेको छैन । निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला ? स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला ?’’

सरकारले वर्षको ३ हजारदेखि ३५ सय जनालाई मात्रै रोजगारी दिनसकेको छ । निजी क्षेत्र सङ्कुचित हुँदा त्यहाँ पनि अवसर छैन । त्यसैले युवाहरु विदेशिन बाध्य छन् । विदेशमा पुगेर निजी व्यवसायमा युवाहरु काम गर्न हुने हो भने नेपालमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न किन नहुने ?

उहाँले भन्नुभयो, ‘‘समस्या एउटै छ, यहाँ निजी क्षेत्रले काम गर्न पाएको छैन । नीतिगत अवरोध छ । प्रक्रियाहरु झन्झटिला छन् । व्यवसायी मैत्री वातावरण बन्न सकेको छैन । सर्वसाधारणमा समेत निजी क्षेत्रप्रति नकारात्मक भावना छ । पछिल्लो समयको आगजनी र तोडफोडले थप निराश बनाएको छ ।  त्यसैले नेपाल उद्योग वाणिज्य महासङ्घले शान्ति, स्थायित्व र समृद्धिका लागि सामुहिक पहल आवश्यक भएको महसुस गर्यो । र, आज समाजका सबै सरोकारवालालाई यहाँ आमन्त्रित गरेका हौँ । यही र यस्तै सार्वजनिक कार्यक्रममार्फत हामीले अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रप्रतिको यहाँहरुको दृष्टिकोण जान्न खोजेका हौँ ।’’

अध्यक्ष ढकालले आफूहरुले राजनीति प्रतिबद्धता चाहेको बताउनु भयो । राजनीतिक स्थायित्वका लागि निर्वाचन गरी लोकतन्त्र संस्थागत गर्न जरुरी रहेको बताउनु भयो । उहाँका अनुसार निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भै काम गर्न नदिए सफल हुन सकिँदैन । निजी क्षेत्र असफल भए त्यो असफलतामा मात्रै सीमित नरहेर आउने पुस्तामा पनि असफलतामा जानेछ ।

ढकालले नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन बढी निर्णायक र परिवर्तनकारी राजनीतिक आन्दोलन भए पनि समयानुकूल सर्वसाधारणको जीविकामा अपेक्षाकृत सुधार हुन नसकेको बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘‘देशका रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व सङ्कलनमा योगदान एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेशा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकसम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिक महत्वको क्षेत्रका रुपमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट पारित गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति लागू गरियोस् भन्ने हाम्रो माग हो । यो रणनीति निर्माण गरी लागू गर्नु आजको आवश्यकता हो ।’’

अध्यक्ष ढकालले निर्धारित समयमै निर्वाचन होस् र स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताउनुभयो । उहाँका अनुसार यो वा त्यो बहानामा आगामी दिनमा निजी क्षेत्रमाथि आक्रमण हुने वातावरण कहीँ कतैबाट सिर्जना हुनुहुँदैन । मुुलुकमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन । निर्बाध पेशा व्यवसाय गरी खान पाउने सबैको नैसर्गिक अधिकार भएकाे उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×