ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको समस्या र अवसरबारे लन्डन दूतावासमा सम्मेलन

लन्डन । बेलायतमा नेपाली विद्यार्थीका समस्या र अवसरबारे पहिलो पटक सम्मेलनको आयोजना गरिएको छ। लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल सोसाइटी (बीएनएस) को सहकार्यमा ‘बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका सरोकार’ विषयमा लन्डनस्थित नेपाली दूतावासमा पहिलो पटक जनवरी २९ मा एक दिने सम्मेलन गरिएको हो।

बेलायतका विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले सम्मेलन आयोजना गरिएको हो। कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले पाएको शैक्षिक सफलता र अनुभवप्रति खुसी व्यक्त गरे। दूतावासमा आएका विद्यार्थीका गुनासा, उनीहरूले भोगेका समस्या र त्यसको समाधानका लागि दूतावासले गरेका प्रयासबारे जानकारी दिँदै अभिभावक, शैक्षिक परामर्शदाता, विश्वविद्यालय, समुदायका अगुवा र नेपाल–बेलायत दुवै सरकारबिच अर्थपूर्ण समन्वय र सहकार्य आवश्यक रहेको दुवाडीले बताए।

बीएनएसका अध्यक्ष निक हिन्टनले सम्मेलनले बेलायतमा अध्ययनरत विद्यार्थीको यात्रालाई थप सहज बनाएको बताउँदै समुदाय र दूतावाससँग मिलेर आवश्यक जानकारी दिने, नीतिगत जानकारी दिने र आवश्यक परे सहयोग गर्न बीएनएस तयार रहेको बताए। छलफलबाट बनेको सहमतिले विद्यार्थीलाई पढाइमा ध्यान दिन सजिलो हुने उनको भनाइ थियो।

नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्दै सहभागीका जिज्ञासाको जवाफ दिए। उनले उच्च शिक्षासम्बन्धी कानुन र नियमहरू पुनरावलोकन गर्ने, शैक्षिक परामर्शदाताहरूको निगरानी गर्ने र समस्यामा परेका विद्यार्थीका लागि सहयोग संयन्त्र बलियो बनाउने विषयमा मन्त्रालय तयार रहेको स्पष्ट पारे।

कार्यक्रममा काठमाडौँस्थित बेलायती दूतावासका निर्देशक डिएगो मोरोसोले भर्चुअल रूपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको धारणा व्यक्त गरे। उनले सरोकारवालाबीच समन्वय र सहकार्य बिना विद्यार्थीका समस्या समाधान हुन नसक्ने धारणा राखे। ब्रिटिश काउन्सिल काठमाडौँका निर्देशक रस्टम मोडीले नेपाली विद्यार्थीलाई सहयोग गर्न काउन्सिलले गरेका प्रयासबारे जानकारी दिँदै आगामी दिनमा सबै सरोकारवालासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनमा विभिन्न प्रस्तुति र छलफलहरू भएका थिए। छलफलको निष्कर्षमा सरोकारवालाबीच समझदारी बढाउने, समस्या र समाधान पहिल्याउने, अनलाइन विज्ञ मञ्च बनाउने, धेरै सरोकारवाला सम्मिलित परिषद् स्थापना गर्ने, नीति सुझाव तयार गर्न कार्यदल बनाउने र सहयोग बढाउने सहमति भएको छ।

जनसङ्ख्या थोरै भए पनि नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठुलो देश बनेको छ। पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका छन् भने सन् २०२५ मा मात्रै करिब २० हजार विद्यार्थीले एनओसी लिएका छन्। त्यसैले सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर छलफल गर्नु आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ।

सम्मेलनमा बेलायतका विश्वविद्यालय र कलेज, गृह मन्त्रालय, शिक्षा विभाग, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स, एनआरएनए यूके, पूर्वविद्यार्थी, प्राध्यापक, शिक्षा परामर्शदाता र सञ्चारकर्मी गरी ६० भन्दा बढी प्रतिनिधि सहभागी थिए। काठमाडौँस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बेलायती दूतावासका अधिकारीहरू पनि भर्चुअल रूपमा जोडिएका थिए।

सम्मेलनका क्रममा दूतावासले हालसम्म गरेका सहयोगका कामबारे पनि जानकारी दिइएको थियो। दूतावासले बेलायतमा समस्यामा परेका धेरै नेपाली विद्यार्थीको उद्धार गरेको र मानसिक तनावका कारण उपचाररत विद्यार्थीहरूसँग सम्पर्क गरी सहयोग गरेको जानकारी दिएको थियो। गम्भीर स्वास्थ्य समस्या भएका विद्यार्थीलाई भेट्न नेपालबाट अभिभावक आउन सहजीकरण गरिएको, परामर्श सेवा दिएको र समुदायको सहयोगमा कतिपय विद्यार्थीलाई नेपाल फर्काउन सहयोग गरिएको दूतावासले जनाएको छ।

यसका साथै, नेपाली विद्यार्थीका समस्या समाधानका लागि दूतावासले सम्बन्धित विश्वविद्यालयहरूसँग छलफल गरिरहेको छ। विशेषगरी शुल्क बुझाउने समय, प्रशासनिक समस्या र अध्ययन निरन्तरताका विषयमा छलफल गरी समाधान खोज्ने प्रयास भइरहेको छ।

तर, समस्यामा परेका विद्यार्थीलाई सहयोग नगर्ने र संवेदनशीलता नदेखाउने विश्वविद्यालयहरूप्रति दूतावास गम्भीर रहेको बताइएको छ। आवश्यक परे त्यस्ता विश्वविद्यालयहरूमा नेपाली विद्यार्थी पठाउने विषयमा पुनरावलोकन गर्न सरकारलाई अनुरोध गर्ने चेतावनी सम्मेलनमा दिइएको थियो।

सम्मेलनले बेलायतमा पढ्ने नेपाली विद्यार्थीको हित र सफलताका लागि सहकार्य जारी राख्ने प्रतिबद्धताका साथ समापन गरेको छ।

  himalayanvoice.com | १८ माघ २०८२, शनिबार २२:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online