सान फ्रान्सिस्को । पहिचान, संस्कृति र परम्पराको निरन्तरताको लागि क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा नेपाली अमेरिकनहरूले सुरु गरेको ‘नेपाल परेड’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाल डे परेड नेपाली कला, संस्कृति, झाँकी र परम्पराको प्रदर्शन मार्फत नेपाललाई परिचित गराउने अभियानको रूपमा आयोजना गरिएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरका अध्यक्ष कुलप्रसाद ढकाल केपीले ‘नेपाल परेड’ भव्य रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सान फ्रान्सिस्कोका सडकहरूलाई ‘मिनी नेपाल’ बनाउने प्रयासमा सहयोग गर्ने संस्थाहरूप्रति आभार व्यक्त गरे।
अध्यक्ष ढकालले परेडको माध्यमबाट पञ्चकन्या, पञ्चेबाजा, शंखध्वनी, कुमारी, धिमे र लाखे नृत्य जस्ता झाँकीहरू प्रदर्शन गरि संस्कृति र पहिचान जोगाउन नेपाली समुदाय सफल भएको बताए।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तिलक राणाले नेपाल डे परेडले संयुक्त राज्य अमेरिकामा नेपालको विविध जाति, धर्म र संस्कृतिलाई आफ्नो पहिचान सहित प्रदर्शन गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै भने, “नेपाल डे परेड मार्फत अमेरिकी सहरमा हाम्रो पहिचान, एकता र सहयोग स्थापित गर्न सफल भएको छ।”
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरद्वारा आयोजित नेपाल डे परेडमा अमेरिकाका विभिन्न शहरहरूमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो।

लस-एन्जलस, सान डिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङ बीच र अन्य वरपरका राज्य र शहरहरूबाट नेपालीहरू उत्सवमा भाग लिन सान फ्रान्सिस्को पुगेका थिए।
सान फ्रान्सिस्को सिटी हलबाट सुरु भएर एम्बारकाडेरो प्लाजामा समाप्त भएको नेपाल डे परेडमा विभिन्न सांस्कृतिक प्रदर्शनहरू प्रस्तुत गरिएको थियो। शहरको मुख्य सडक मार्केट स्ट्रिट ट्राफिकको लागि बन्द गरिएको थियो र परेडभरि पैदल यात्रीहरूको लागि खुला गरिएको थियो।

नेपाल डे परेडमा भाग लिन आएका दक्षिणी क्यालिफोर्निया निवासी समाजिकिक अभियन्ता भक्त थापा आफु नेपाली अमेरिकन भएकोमा गर्व गर्दै भन्छन्, “अमेरिकामा बढिरहेको नेपालीको जनसंख्यालाई यहाहंको मुलधारमा सामाजिकीकरण गर्ने र नेपालको विविध संस्कृति मार्फत अमेरिकामा हाम्रो पहिचान खोज्न यो महोत्सव सफल रहेको र आगामी दिनहरूमा परेड मार्फत हलिउडमा पनि हाम्रो उपस्थिति हुनुपर्छ।”
विभिन्न जातीय तथा स्थानीय सामाजिक संस्थाहरूले प्रस्तुत गरेको झाँकी, नेपाली पोशाक र सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोका सडकहरूलाई ‘नेपाली’ रोमान्चित बनायो। स्थानीय अमेरिकी समुदायले पनि कार्यक्रममा प्रदर्शित नेपाली कला र संस्कृतिलाई चासोका साथ अवलोकन गरे।

एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र साहको नेतृत्वमा विभिन्न राज्यका प्रतिनिधिहरू नेपाल डे परेडमा भाग लिन आएका थिए। श्री पशुपतिनाथ बुद्ध मन्दिर लस एन्जलसको समूहले ‘पञ्चे बाजा’ सहितको सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो। कार्यक्रमका आकर्षणहरू पञ्चकन्या, पञ्चे बाजा, शंखध्वनी, कुमारी, धिमे र लाखे नृत्यहरू थिए।
नेपाल डे परेडमा भाग लिन नेपाली संगीत वाद्ययन्त्र ‘पञ्चे बाजा’ लिएर सान फ्रान्सिस्को आइपुगेका पशुपतिनाथ बुद्ध मन्दिर लस एन्जलसका अध्यक्ष बिमल श्रेष्ठ भन्छन्, “नेपाली संस्कृति र नेपाली जनता विश्वभर फैलिँदैछन्, र हामी हाम्रो संस्कृति मार्फत अमेरिकामा पहिचान खोज्ने हाम्रो यात्रामा सफल हुँदैछौं।”

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग सदस्य राजेश पाण्डेको सब्दमा नेपाल डे परेड नेपालको पहिचान बनाउन सफल भएको र यसलाई हाम्रा गित, संगीत र नृत्य सहित कार्निभलको रुपमा हलिवुड सम्म पुर्याउनु पर्ने विचार व्यक्त गर्छन ।
एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष कुलप्रसाद ढकालले नेपाल दिवस परेडमा सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास, बे एरियाका मेयर र नगर परिषद्का सदस्यहरूको सहभागिता रहेको जानकारी दिए ।
प्रतिक्रिया