नेपाली चलचित्र ‘लालीबजार’ व्यावसायिक रूपमा सफल

यस चलचित्रले घरेलु बजारमा हालसम्म ९ करोड रुपैयाँभन्दा बढीको कुल कमाइ (ग्रस कलेक्सन) गरिसकेको छ भने अब यो १० करोड क्लबतर्फ अगाडि बढेको छ।

काठमाडौँ । प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको छैटौँ हप्तामा प्रवेश गरेको छ। यो बर्ष प्रदर्शन भएका अन्य नेपाली चलचित्रको तुलनामा ‘लालीबजार’ व्यावसायिक रूपमा सफल देखिएको छ।

यस चलचित्रले घरेलु बजारमा हालसम्म ९ करोड रुपैयाँभन्दा बढीको कुल कमाइ (ग्रस कलेक्सन) गरिसकेको छ भने अब यो १० करोड क्लबतर्फ अगाडि बढेको छ। चलचित्रले छैटौँ हप्तामा प्राप्त गरेको प्रदर्शन संख्याले यसको व्यापारिक यात्रा १० करोड रुपैयाँमा पुग्ने निश्चित देखिएको छ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ को डायस्पोरा प्रदर्शन युरोपको डेनमार्कबाट सुरु हुने भएको छ। निर्माता म्याक्स दिपेश खत्रीका अनुसार चलचित्र आगामी असार ५, ६ र ७ गते डेनमार्कको कोपेनहेगनमा प्रदर्शन हुनेछ।

“नेपालमा दर्शकको माया पाएसँगै विदेशमा प्रदर्शन कहिले हुन्छ भन्ने हामीलाई जिज्ञासा आइरहेको थियो। अन्ततः हामीले युरोपको डेनमार्कबाट प्रदर्शन सुरु गर्दैछौँ। अन्य देशमा समेत हामीले छिट्टै प्रदर्शन हुने तालिका तय गर्दैछौँ,” निर्माता खत्रीले भन्नुभयो। उहाँले शिक्षाको ज्योतिले समाजमा पार्ने प्रभावलाई चलचित्रमा चित्रण गरिएको र यसलाई दर्शकले रुचाएको बताए ।

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अजय बराल लगायतको मुख्य अभिनय रहेको छ। यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नवकलाकारका रूपमा डेब्यु गर्नुभएको छ। विशाल रङ्गमञ्चमा काम गरिरहनुभएका कलाकार हुनुहुन्छ भने प्रशंसा ‘जेन जी’ अभिनेत्रीका रूपमा चर्चित छन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×