काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको हो ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकामा २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकामध्ये २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामा ३६ हजार ४२० जनाले ग्रेड प्राप्त गरेका छन् ।
कक्षा १२ को नतिजाअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत, आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

