काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यहरूका लागि भएको मतदानको मत परिणाम आउन बाँकी रहेको छ ।
महाधिवेशनमा केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । विद्युतीय मतदान प्रणालीमार्फत भएको केन्द्रिय सदस्यको मतपरिणाम २ घण्टामा आउने रास्वपाले जनाएको छ ।
निर्वाचनमा ९९ केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा खुलातर्फ ६४ सदस्यका लागि २ सय १० जना र भूगोलतर्फ ३५ सदस्यका लागि १ सय ७४ जना गरी कुल ३ सय ८४ उम्मेदवार प्रतिस्पर्धामा छन् । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुने छन् ।
केन्द्रिय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जना प्रतिस्पर्धा गरेका छन् । । गएराति १२ बजेपछि सुरु भएको मतदानमा प्रतिनिधिले विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरेका थिए ।
रास्वपाको केन्द्रीय सदस्य १ सय ५८ जना भए पनि ९९ जना निर्वाचित हुने र बाँकीलाई पछि मनोनीत गरिने रास्वपा विधानमा उल्लेख छ ।
जस अनुसार ५१ केन्द्रीय सदस्य मनोनीत हुनेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्यका रुपमा केन्द्रिय सदस्य रहनेछन् ।विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारीहरू छान्नेछन् । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै अपराह्न ४ बजेबाट पदाधिकारीको मतदान हुने बताइएको भएपनि पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको जनाएको छ ।
रास्वपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति एक जना महिला सहित ३ जना, महामन्त्री २ जना , सहमहामन्त्री १ महिला सहित ५ जना कोषाध्यक्ष १ जना, सह कोषाध्यक्ष २ जना, एक जना प्रवक्ता र सहप्रवक्ता ३ जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ ।
१९ सदस्यीय पदाधिकारी रहने रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था रास्वपाको विधानले गरेको छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना र ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत हुने व्यवस्था विधानमा छ । पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भैसकेका छन् ।

