ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

हिमताल विस्फोटबाटै मुस्ताङमा बाढी

काठमाडौँ ।  मुस्ताङमा पनि हिमताल फुटेर हिमबाढी गाउँ पसेको पुष्टि भएको छ । गत मङ्गलबार साँझ मुस्ताङको लोमान्थाङ वडा नम्बर ४ मा हिमताल फुटेर चुम्जुङ गाउँको छुआमा खोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि अनुसन्धानकर्मीहरूले गर्नुभएको हो । 

मुस्ताङमा भएको हिमताल विस्फोट उच्च हिमाली क्षेत्रमा अहिलेसम्म अभिलेख भएको तेस्रो सबैभन्दा उचाइमा भएको घटना मानिएको छ । सबैभन्दा उचाइमा भएको हिमताल विस्फोटको घटना सन् १९८५ मा यही तालनजिकै भएको थियो । 

जल तथा मौसम विज्ञान विभाग हिमताल फुटेको घटनाको अन्तिम पुष्टि गर्न लागिपरेको छ । मौसमविद् विनोद पराजुलीले पनि विभागको प्रारम्भिक अनुसन्धानले हिमताल फुटेको अनुमान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पूर्वानुमान पनि हिमताल फुटेको भन्ने नै हो तर त्यसको पूर्ण पुष्टिका लागि अन्तिम काम गर्दै छौँ ।” अमेरिकास्थित अलास्का विश्वविद्यालयका नेपाली हिममण्डल अनुसन्धानकर्ता अमृत थापाले भने मुस्ताङको लोमान्थाङमा हिमताल विस्फोट भएर नै गाउँमा आकस्मिक बाढी आएको पुष्टि गर्नुभएको छ । बाढी आएको अघिल्ला केही दिनमा मुस्ताङमा कतै ठुलो वर्षा नभएको रेकर्ड जल तथा मौसम विज्ञान विभागको छ । कालीगण्डकी नदीको स्रोतमा रहेको हिमनदी सन् २००१ देखि २०२५ सम्म प्रत्येक वर्ष झन्डै २० मिटरका दरले सर्दै गएको पाइएको अनुसन्धानकर्ता थापाले बताउनुभयो ।  पुराना तस्बिर तथा तथ्यका आधारमा हेर्दा समुद्री सतहदेखि पाँच हजार सात सय मिटरको उचाइमा रहेको उक्त हिमनदीको मुहान हिमताल थियो ।

सन् २००९ देखि हिमनदीको माथिल्लो किनार सर्दै पाँच हजार नौ सय मिटरदेखि छ हजार एक सय मिटरमा तालहरू बन्न थालेको पाइएको छ । उहाँले भन्नुभयो, “जुन प्रायः हरेक वर्षको जाडो याममा जम्ने, गर्मी याममा फेरि पग्लिएर तालको रूप लिएको देखिन्छ ।” यी तालमध्ये एउटा ताल अघिल्ला हप्ताहरूमा स्थिर रूपमा बढ्दै गएर करिब ०.०१६ वर्ग किलोमिटरको आकारमा उकासिएको थियो । त्यही ताल नै गत मङ्गलबार फुटेर लोमान्थाङमा हिमबाढीका रूपमा उर्लेको थियो । हिमनदीको तल्लो भागमा नभई माथिल्लो सतहमा यस्ता तालहरू बन्नु यस क्षेत्रका लागि नौलो भएको थापाको भनाइ छ ।   वर्षा भइहाले पनि मुस्ताङलगायत माथिल्लो हिमरेखा छोएका जिल्लामा बढीमा पाँच मिलिमिटरसम्मको मात्र वर्षा हुने गरेको पाइन्छ । त्यसैले वर्षा भएर बाढी आएको नभई हिमताल विस्फोट भएरै बाढी आएको अनुमान सोही दिनमा पनि विज्ञहरूले गरेका थिए । 

विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक क्षति गरेकाले आफ्नो अनुसन्धान रसुवाको हिमबाढीमा बढी केन्द्रित गरेकाले लोमान्थाङको हिमबाढी ओझेलमा परेको थियो । अनुसन्धानकर्ता थापाका अनुसार गत मङ्गलबार अर्थात् २०२५ जुलाई ८ तारिख साँझ ५ बजे माथिल्लो लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँनजिकैको छुआमा खोलामा उर्लेर बाढी आएको थियो ।

बाढी देखेपछि स्थानीयले तल्लो तटीय क्षेत्रमा सूचना दिएकाले कुनै प्रकारको क्षति हुन भने नपाएको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिनुभयो । खबर पाएपछि वडा नम्बर ४ का अध्यक्ष छिरिङ धिन्डु गुरुङसहितका जनप्रतिनिधिको टोली पनि हिमताल फुटेको ठाउँमा हेर्न गएको थियो । पूर्वसूचना पाएपछि तल्लो तटीय जोखिमयुक्त बस्तीहरू खाली गरिएको जानकारी स्थानीयवासीले दिएका छन् । हिमताल विस्फोटपछिको हिमबाढीले तल्लो तटीय क्षेत्रमा चार वटा पुल क्षतिग्रस्त बनाएको छ । तालबाट झन्डै ३५ किमी तलसम्म बाढीले हिमाली गेग्य्रान बगाएर पुर्याएको बताइएको छ । 
 
 

  himalayanvoice.com | २९ असार २०८२, आईतवार २०:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online