ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

साहित्यसुधा नेपालको पाँचौ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साहित्यसुधा नेपालको पाँचौ वार्षिकोत्सव भव्यका साथ सम्पन्न भएको छ। साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति प्राडा विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा वार्षिक उत्सव सम्पन्न भएको हो।

पाँचौ वार्षिक उत्सवको अवसरमा महाकाव्यकार सीता भट्टराईलाई हरिभक्त साहित्य सुधा सम्मान तथा पुरस्कार-२०८० बाट सम्मान गरिएकाे छ। कार्यक्रमका अध्यक्ष कल्पना काफ्ले, पुरस्कारका संस्थापक अध्यात्म चिन्तक कवि हरिभक्त सिग्देल र प्रमुख अतिथि प्राडा विष्णुविभु घिमिरेले नगद राशि १५ हजार रूपैयाँका साथ दोसल्ला ओढाएर एकैसाथ स्रष्टालाई सम्मान गरिएको थियो। साठीको दशकदेखि साहित्य साधनामा लागेकी उनले छन्द कविता, गद्य कविता, उपन्यास, समालोचना तथा बालसाहित्यमा कलम चलाएकी छन्। उनका कला र भावको संगम, भद्रा घले सेवा र साधना, चिन्तनसँगको यात्रा, को हो आफ्नो, फूलको साथी हामी, मुक्तिनाथ बाबा, मैले पढेका कथा, शिवगोपाल रिसालको महाकाव्यमा वेदान्त दर्शन, रामप्रसाद ज्ञवालीको कवितामा वर्गद्वन्द्व र समानता जस्ता दर्जनौ कृति प्रकाशित छन्।

कार्यक्रममा प्राडा प्राज्ञ देवी नेपालले सम्मानित स्रष्टाबारे बोलेका थिए। उनले कवि भट्टराई सुझाव लिएर कार्यमा रूपान्तरण गर्ने सचेत लेखक भएको बताए। त्यस्तै वरिष्ठ समालोचक प्राडा रामप्रसाद ज्ञवालीले सम्मानित स्रष्टालाई शुभकामना दिंदै सम्मानित स्रष्टा जस्ताेसुकै अप्ठयाराेमा पनि संघर्ष गर्न पछि नहट्ने र समग्रमा उनको जीवनी नै पठनीय रहेको बताए। उनले भने, हामी नेपाली समर्थक भयौ, नेतृत्व लिएनौ, फ्लोअर्स भयौं तर लिडर भएनौ। त्यसैले हामी पछि परेका हाैं। तर, यस्तो अवस्थामा सम्मानित स्रष्टाले फराकिलाे सोचकाे साथ कलम चलाएकी छन्। कवि कृष्णदेव रिमालले सञ्चालन गरेको कार्यक्रममा कृष्णप्रसाद प्रसाईं, जानुका गुरागाई, दुर्गाप्रसाद सिग्देल, पवित्रा दाहाल, पूजन मिश्र, बोधराज पौडेल, लक्ष्मण गाम्नागे, विष्णुप्रसाद आचार्य र श्रीराम राईले कविता तथा मुक्तक वाचन गरेका थिए।

कार्यक्रममा अध्यक्ष काफ्लेले वाचकहरूलाई आआफ्ना फोटोसहितको कप उपहारको रूपमा प्रदान गरेकी थिइन्। पुरस्कारका संस्थापक अध्यात्म चिन्तक कवि हरिभक्त सिग्देलले संस्थाका अध्यक्ष काफ्लेको उद्धारवादी सोच तथा क्रियाशीलताबाट प्रभावित भएर पुरस्कारको स्थापना गरेको बताए। कार्यक्रममा वरिष्ठ पद्य कवि प्रह्लाद पोख्रेल र मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले पनि आफ्नो सारगर्भित मन्तव्य राखेका थिए।

कार्यक्रममा गत साल सम्मानित स्रष्टा तथा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, सल्लाहकार तथा मुक्तककार रमेश पौडेल, लिलाध्वज थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापा, मुक्तककार सुनिल अधिकारी, प्राडा गोविन्दमानसिंह कार्की, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, डा.वासुदेव काफ्ले जस्तै दर्जनौं महानभावको उपस्थिति रहेको थियो। साहित्यको संवर्द्धन, हाम्रो अभियान भन्ने नाराको साथ स्थापना भएको संस्थाको साधारण सभाबाट कल्पना काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएका छन्। संस्थाका उपाध्यक्षमा गणेश मार्मिक घिमिरे, सचिवमा कृष्णदेव रिमाल, कोषाध्यक्षमा इन्दिरा दाहाल निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा राजेन्द्र घिमिरे, मुकेश रिजाल, पवित्रा दाहाल, डिल्लीप्रसाद मूलतिहुन र जानुका गुरागाईं निर्वाचित भएका छन्। प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपाल संरक्षक रहेको संस्थाका परिकल्पनाकार कवि मनीषा प्रसाईं हुन्।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार १२:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online