-जैनेन्द्र जीवन

तेस्रो बलात्कारीको धैर्य समाप्त भइसकेको थियो । ऊ कराउन थाल्यो, “दाइ छिटो सक्नूस् न ।” “एकछिन नकरा न,” ट्रकभित्रबाट ‘दाइ’ बलात्कारीले झर्कंदै भन्यो । एकछिनपछि ऊ फेरि करायो, “दाइ कतिबेर लाको ?”

“पख न अब तेरै पालो त हो नि ।” त्यति भनेको एकछिनपछि दोस्रो बलात्कारी पाइन्टको बेल्ट कस्दै ट्रकको गेट खोलेर तल झ¥यो । “खुब खरो पल्ट्या छ होइन, जा धित मारेर आइज अब,” उसले हाँस्दै भन्यो ।

ड्राइभर सिटपछाडिको लामो तर साँघुरो सिट रक्ताम्मे भइसकेको थियो तर बलात्कारीलाई त्यसको केही मतलब थिएन । रगतको आहाल पुछपाछ गर्ने धैर्य उसमा थिएन । ऊ हत्त न पत्त आफ्नो पाइन्ट फुकाल्न थाल्यो । साँगुरो सिटमा उत्तानो पारिएकी केटी कम्मरभन्दामुनि पूरै नाङ्गो थिई । उसलाई बलात्कारीले आफूलाई सजिलो हुने गरी मिलाउन अलिकति तानेको मात्र के थियो, त्यो नग्न शरीर निर्जीव मुढो खसेको जस्तो सिटबाट तल खस्यो । घ्वाœयाक्क आवाज सुनेर तल बसेका दुई बलात्कारीले एकसाथ सोधे, “ए के

भो ?” हप्काएको पारामा फेरि भने, “के गर्छ यो ?” अनि पहिलो बलात्कारी अर्थात् ड्राइभरले चाहिँ हाँस्दै भन्यो, “भेउ पाइनस् कि क्या हो ? अगि त खुब आत्तुरी भाथ्यो त ।” उनीहरू हलल्ल हाँसे ।

अब तेस्रो बलात्कारीलाई पनि रिस उठिसकेको थियो । “मलाई पो भन्छ, यहाँ केटी मरिसकी जस्तो छ,” ट्रकको झ्यालबाट मुन्टो बाहिर छिराएर आत्तिदै करायो ऊ । सुन्नासाथ तलका दुवै जना आत्तिए । “ए के भन्छ यो ? अघिसम्म त ज्युँदै थिई त !” दुवै जना माथि उक्लेर केटीको शरीर छामछुम पार्न थाले । “जिउ त तातै छ त,” तेस्रो बलात्कारीको चित्त बुझाउन खोज्दै दोस्रो बलात्कारीले भन्यो, “बुझिस् कान्छा, एकफेरलाई हुन्छ ।”

“थुइक्क मोरा हो, अब यहाँ लास कसरी ठेगान लाउने भन्ने आपत् आइलाग्या छ, यी मु….हरू चाहिँ लासलाई पाए पनि नछाड्ने भन्दै बस्या छन्,” ट्रक ड्राइभरले आफ्ना खलासीलाई स्थितिको गम्भीरता बोध गराउँदै हप्कायो । उसले दोस्रो बलात्कारीलाई सोध्यो, “तैँले गरुन्जेल जिउँदै थियो ?”

उसले भन्यो, “सास चलिरहेकै थियो गुरु ।” तिनै जना डराए पनि तेस्रो बलात्कारीलाई चाहिँ डर कम लाग्ने तर रिस बढी उठ्ने हुन थालेको थियो । “आफूले चाहिँ केही पाएन । सप्पैले मलाई लास्टमा राखेर… । अलि छिट्छिटो सकाएको भए पनि त मेरो पालो आँउथ्यो नि ।”

उसको गनगन बढ्दै गयो तर उसलाई केही भन्ने वा सम्झाउने आँट बाँकी दुईले गरेनन् । उनीहरूको सातोपुत्लो उडेको थियो । पहिलो बलात्कारीले उसलाई फकाइरह्यो, “अर्कोचोटि यस्तो मौका आयो भने सबभन्दा पहिला तँलाई चानस दिने ल । अहिलेलाई त्यस्तै भयो, यस्तो हुन्छ भन्ने कसलाई थाहा थियो र कान्छा !”

कान्छाले आफ्नो मुख्य ‘बोस’ को कुरामा केही भनेन । लासलाई ठेगान लाउने यावत् काम सकुन्जेल पनि ऊ एक्लै भुतभुताइ नै रह्यो तर सहयोग गरिरह्यो । धेरैबेरको सल्लाहपछि चोभारको गल्छीमा लगेर लास फालिदिने, असारको भेलमा बगेर कता पुग्छ कता, कसैले थाहा पाउँदैनन् भन्ने उनीहरूले निर्णय गरे । त्यहाँ नपुगुन्जेल बिचमा कतै प्रहरीको चेकिङमा परियो भने के गर्ने भन्ने कुरा उठेपछि लासलाई तिनै जनाले मिलेर पछाडि सारे ढुवानी गरेका सामानले छेक्ने गरेर ।

भोलिपल्ट ट्रिपमा वीरगन्ज जानु थियो । दुवै खलासी ट्रकमै सुतेका थिए । ड्राइभर आफ्नो डेराबाट आँउदा दुवै डराएर निलोकालो भएका भए पनि बेलुकासम्ममा तिनै जना सामान्य भैसकेका थिए । मध्यरातको समय, त्यसै पनि मान्छेको आवागमन एकदमै पातलो थियो । पुलमाथि ट्रक अड्याएर राखेर ट्रकको पछाडिबाट झिकेको लास बागमतीमा फालेको कसैले देखेनन् । केटीको मोबाइल र रगत लतपतिएको लुगा पनि उनीहरूले लाससँगै बागमतीमा विसर्जन गरे । ट्रकको सिट पखालीवरि सबै सबुत मेटाए । यो सब बन्दोबस्त र जुक्ति पहिलो बलात्कारीकै थियो । बाँकी दुई जना त उसले जे जे भन्थ्यो, त्यही त्यही गर्थे ।

भाइ बलात्कारीहरू दाइ बलात्कारीको सुरक्षा उपायमा ढुक्क थिए । तैपनि दोस्रो बलात्कारी अर्थात् मुख्य खलासीले डराइडराई सोध्यो, “अब हामीलाई केही हुन्न नि गुरु ?” ड्राइभर गाउँको स्कुलमा १० कक्षासम्म पढेपछि घरबाट भागेर बम्बई गएको थियो । गाउँलेलाई भन्न चाहिँ फिलिममा खेल्न गएको भन्थ्यो । फिलिममा खेल्न त के पाउनु, बेयरा भएर पाँच÷छ वर्ष बम्बई बस्दा रेस्टुरेन्टको समलिङ्गी मालिकको समेत मन परेको ऊ घर फर्कंदा भने निकै चलाख भइसकेको थियो । हाँक्न सिकेर ट्रकको खलासीबाट ड्राइभर बन्न पनि उसलाई धेरै समय लागेन । त्यसैले ट्राफिक पुलिसदेखि कालीमाटीको ट्रकको साहु अथवा वीरगन्जको गोदामको भारतीय मेनेजरसँग भन्नुपर्ने कुरा पनि सबै उही भन्थ्यो । मुख्य खलासी र सहायक खलासी दुवै उसको कुरा मान्थे र ऊसँग डराउँथे पनि । उनीहरूलाई आफ्नो ‘गुरुजी खतरा’ छ भन्ने अमिट छाप परेको थियो ।

“त्यो केटी हाम्रो ट्रकमा आएकी थिई भन्ने कुरा कसैले देखेको छैन, केही हुन्न तर हेर, मैले हिजोदेखि तिमेरुलाई सम्झाएको सम्झायै छु, तिमेरुले यो कुरा कोहीकसैसँग बिर्सेर पनि ग¥यौ भने चाहिँ जसले भन्छ, त्यही जेल जान्छ । त्यसलाई पुलिसले कुट्नुसम्म कुट्छ । मारिदिन पनि बेर लाउँदैन । अरूलाई केही हुन्न, बुझिराख ।” दुवैले गुरुको कुरो बुझेको भावमा टाउको हल्लाए ।

कलङ्कीमा एउटा कोठामा साथीहरूसँग मिलेर बसेर काम गर्दै पढिरहेकी रमलाका घरगाउँका मान्छेलाई त केही थाहा हुने कुरै भएन । दुई÷तीन दिन फोन नआउने कुरा सामान्य नै थियो उनीहरूका लागि । कोठामा वाइफाई नभएकाले वाइफाई भएको ठाउँतिर पुगेका बेला कहिलेकाहीँ मात्र कुरा गर्ने अवसर मिल्थ्यो । घरका मान्छेले किन फोन नगरेको भनेर सोधे भने ब्यालेन्स वा चार्ज सकिएर भन्थी । कोठामा बस्ने दुई जना साथीले पनि घर गई होली अथवा कोही नातागोताकहाँ एक÷दुई दिन बस्न गई होली भनेर दुई÷तीन दिनसम्म त वास्तै गरेनन् । पहिले पनि यस्तो कहिलेकाहीँ हुन्थ्यो तर जब चौथो दिन फोन गर्दा पनि मोबाइलको स्विच अफ गरिएकै सन्देश दोहोरिरह्योे, उनीहरूले पुलिसमा रिपोर्ट गरे ।

साढे ४ बजेको काठमाडौँ जाने अन्तिम बस दुई पाइलोले छुटेपछि भोलिपल्टको क्याम्पसको परीक्षा दिन काठमाडौँ पुग्नैपर्ने भएपछि रमला एकछिन त अत्ताल्लिई । तै छिट्टै सामान लिएर धादिङबेँसीबाट गल्छीतिर आइरहेको टिप्परमा पछाडि उभिएर आउन लिफ्ट पाई । गल्छीमा काठमाडौँ आउने बस छन त जति भने नि आइरहेकै थिए तर सबै खचाखच थिए । कोच्चिएर र जसोतसो उभिएर जानुपर्ने, कि माथि छतमा बस्नुपर्ने अवस्था थियो ।

बसको छतमा यात्रा गर्न रमलालाई सधैँ डर लाग्थ्यो । एक÷दुई वटा बस हेरुँ, मिलेन भने अन्त्यमा कोच्चिएरै भए पनि कुनैमा जाउँला भनेर एकछिन उभिएको बेलामा एउटा ट्रक अगिल्तिरै आएर घ्याच्च रोकियो । यस्सो हेरेको “जा छिटो लिएर आ, जहिले जहाँ बस्यो त्यहीँ मोबाइल छोड्दै हिँड्छ” भनेर ड्राइभर खलासीसँग रिसाउँदै रहेछ । एकछिन ट्रकतिर हेरिरहेपछि “दाइ, मलाई पनि काठमाडौँ लगिदिनुस् न, बस्नलाई एउटा सानो छेउ भए पुग्छ” भनी रमलाले । ड्राइभर र खलासी दुवै केही नबोलेर आपसमा मुखामुख गरिरहे । एकछिनमा चिया पसलमा छुटेको मोबाइल लिएर अर्को खलासी पनि आइपुग्यो । उनीहरूले केही जवाफ नदिएपछि “म भाडा तिर्छु नि दाइ, बस्न दिनूस् न प्लिज” भनी उसले ।

यो पटक तिनै जनाले मुखामुख गरेर अर्थपूर्ण मुस्कान साटासाट गरे । जसको रमलाले भेउ नै पाइन । एकछिन आँखैआँखाको इसारामा तीन जनाबिच कुरा भयो । त्यसको पनि उसले वास्तै गरिनँ । त्यसपछि ड्राइभरले भन्यो, “हामी कालीमाटीसम्म मात्रै जाने हो ।”

“ए भैहाल्छ नि, म त कलङ्कीमै झर्ने हो,” उसले भनी । “ल आउनोस्” भनेर खलासीले ट्रकको ढोका खोलेपछि अनुगृहीत भावमा ‘थैङ्क यु दाइ’ भन्दै चढेकी बिचरीलाई केही घन्टापछि आउने भयावह कालको कुनै पूर्वानुमान हुनै सकेनथ्यो ।

गल्छीबाट हिँडेको केहीबेरपछि ट्रक अचानक मूलबाटो छाडेर एउटा साँगुरो र कच्ची सडकतिर मोडियो । केही अचम्मित हुँदै र डराउँदै उसले भनी, “किन यता मोडेको दाइ ? हामीकहाँ जान लागेको हो र ?”

“हेर्नुस् न मलाई एकदम दिसाले च्याप्यो” भन्दै अलिपर सुनसान ठाउँमा लगेर उसले ट्रक रोक्यो । उसले “एकछिन बस्दै गर्नोस् न है” भनेपछि उनीहरू तिनै जना तल ओर्लिए । त्यसपछि तिनोटैले चारैतिरको परिस्थितिको अवलोकन गरे । ठाउँ एकदम एकलास छ, कोही मान्छे पनि देखिँदैनन् भन्ने भएपछि ढुक्क भए । त्यसपछि एकछिन खासखुस गरे, सायद पालो मिलाउने सल्लाह थियो । ड्राइभर बोस नै भयो, त्यसपछि सिनियर खलासी र अन्तिममा सहायक खलासी ।

पहिले ड्राइभर माथि उक्लियो । उसले आफ्नो शरीरमा पहिलो स्पर्श गर्नासाथै रमलाले उनीहरूको नियत बुझिहाली तर बुझेर पनि के गर्न सक्थी

र ! उसले चिच्याएको, गुहार मागेको त्यो सुनसान र अँध्यारो जङ्गलमा देख्नेसुन्ने कोही थिएन । प्रतिरोध जति नै गर्दा पनि १८÷१९ वर्षकी दुब्लीपातली केटीको तीन÷तीन जना सण्डमुण्डको हबस र बलको अगाडि के जोर लाग्थ्यो ।

प्रहरीमा रिपोर्ट गरेको दुई÷तीन दिनसम्म त कतै केही हल्लीखल्ली भएन । चुरेबाट निस्कने ठाउँकोे बाग्मतीको बगरमा एउटी युवतीको नग्न लास भेटिएको समाचारलाई पनि सुरुमा कसैले पनि बेपत्ता भएकी रमलासँग जोेडेर हेरेन । पछि जब अलि पर्तिर किनारमा भेटिएको उसको कलेजको परिचयपत्रले एक हप्तादेखि हराइरहेकी धादिङ घर भई काठमाडौँमा डेरा गरेर बसेकी रमलाकै लास हो भन्ने परिचय खुल्यो । त्यसपछि यो विषय यस्तरी तात्यो कि तत्कालीन सरकार नै हल्लियो !

देश÷विदेशबाट पत्रकार ‘ग्राउन्ड जिरोबाट रिपोर्टिङ’ का लागि भन्दै पालिकामा पुग्न थालेपछि पालिकाका पदाधिकारी र कर्मचारीका अनुहार पनि बराबर टिभी र अखबारमा आउन थाले । सङ्घ र प्रदेशमा भने सदनबाट गृहमन्त्रीको राजीनामा माग्न थालियो । माग चर्कंदै गएसँगै राजीनामा नआउन्जेलसम्म प्रतिनिधि सभा चल्न नदिने भन्दै प्रतिपक्षी सांसदले संसद् ठप्प पारे । पाँच दिनसम्म लगातार संसद् अवरुद्ध भइरहेपछि सभामुखले संसद् सुचारु गर्न आफ्नो च्याम्बरमा सत्तारूढ दल र प्रतिपक्षी दलहरूको मिटिङ बोलाए ।

संसद् अवरोध समाप्त गर्न दलहरूको बिचमा यस्तो सहमति भयो, “अपराधको गम्भीरतालाई हेर्दा प्रहरीको नियमित अनुसन्धानका अलावा मन्त्रीपरिषद्बाटै प्रहरी मुख्यालयको उच्चपदस्थ प्रहरी अधिकृतको अध्यक्षतामा विज्ञहरू सम्मिलित विशेष अनुसन्धान टोली गठन गर्ने ।”

यो विषयलाई सञ्चार माध्यमले पनि तताउनसम्म तताए । श्रव्य–दृश्य–छापाका ठुल्ठुला मिडियादेखि युटुबे र अनलाइनसम्मले रमला हत्याकाण्डबारे दिन नबिराई नयाँ नयाँ ‘स्टोरी’ छापे, प्रसारण गरे । बलात्कार भइरहेकै अवस्थाको साँच्चिकैको जस्तो लाग्ने एआई प्रविधिबाट निर्मित भिडियो सामाजिक सञ्जालमा आउन थालेपछि तिनको नियमन र कारबाही गर्नुपर्ने अर्को बहस चल्न थाल्यो । यो कार्यलाई पीडितको अपमान गर्न वा शोकसन्तप्त घरपरिवारलाई थप चोट पु¥याउन गरिएको नभई यस किसिमका जघन्य अपराधबाट जोगिन, प्रतिरोध गर्न सचेतना अभियानका रूपमा बुझ्नुपर्ने धेरैको भनाइ थियो ।

‘रमलालाई न्याय दे’ भन्ने प्लेकार्ड बोकेका थरी थरीका नागरिक समाज, एनजिओहरूले माइतीघरमा धर्ना दिएकोदियै गरे । केही महिला अधिकारकर्मी शरीरमा लगाएका खोल्न मिल्ने कपडा खोलेर भद्रकालीबाट सिंहदरबारतिर अघि बढेपछि प्रहरीले रोक्न खोज्यो । जुलुस जबर्जस्ती निषेधित क्षेत्रतिर बढेपछि प्रहरीले बल प्रयोग गर्दा केही महिलाका कपडा च्यातिए । यसबाट अर्को हङ्गामा सुरु भयो । लाठीचार्जको विरोधमा देशभर हिंसात्मक प्रदर्शन भए । थुप्रै प्रदर्शनकारी घाइते भए । सरकारलाई अनावश्यक र अतिशय शक्ति प्रयोग नगर्न भन्दै मानव अधिकार आयोगले वक्तव्य निकाल्यो । प्रतिपक्षी दलले पुनः सदन अवरुद्ध गरेपछि गठबन्धन सरकारको समीकरण बदलिने सम्भावना प्रबल भयो । सरकार ढल्ने पक्कापक्की भएकै अवस्थामा अब आउने सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरामा प्रतिपक्षीबिच सहमति हुन नसकेपछि सरकार यथावत् नै रह्यो ।

१५ दिनको म्याद पाएको प्रहरी एआइजीको नेतृत्वको आयोगले आफ्नो काम समयमा सम्पन्न गर्न नसकी पटक पटक म्याद थप्नु परेसँगै रमला हत्याकाण्डको चर्चा बिस्तारै सेलाउँदै गयो । यता बलात्कारी भने चर्चा उत्कर्षमा पुगेको अवस्था होस् कि सेलाएको अवस्थामा होस्, बेखबर जस्तै थिए ।

चर्चा सेलाए पनि सरकारले छानबिन टोलीलाई खबरदारी गरिरहेकै थियो । नौ महिनापछि आउने आमनिर्वाचनमा आफ्नो पार्टीलाई यसले प्रतिकूल असर नपारोस् भन्नेमा राजनीतिक दल सजग थिए तर जति अनुसन्धान गर्दा पनि र जति पटक म्याद थप्दा पनि कुनै सुराकी फेला परिरहेको थिएन । बलात्कारपछि हत्या भएको भन्ने ठहरबाहेक पोस्टमार्टमबाट अपराधको यकिन समयलगायत अरू कुनै सुराक पनि पत्ता लाग्न सकेन ।

आखिर आइजीलाई सेवाबाट अवकाशपछि पनि कुनै आकर्षक नियुक्तिको आस थियो भने एआइजीलाई आइजी अवकाश भएपछि आफू आइजी हुने आस थियो । यकिन तथ्य नभेटिएको भन्ने प्रतिवेदन दिएर अनुसन्धानमा असफल भएको ठहरिनु पनि भएन । के गर्ने भनेर लामै छलफल भएपछि एउटा उपाय निकालियो । उपाय यस्तो थियो, “अनुसन्धान टोलीको अथक प्रयासका बाबजुद कुनै सुराक नमिलेकाले यो अत्यन्त पेचिलो र जटिल प्रकृतिको अनुसन्धान गर्न नेपालमा उपलब्ध साधन र जनशक्तिबाट मात्र सम्भव देखिएन । यसको अनुसन्धान गर्न बाहिरबाट आवश्यक साधन स्रोतसहितको तालिम प्राप्त जनशक्ति झिकाइ सूक्ष्म अनुसन्धान गरिनुपर्ने यो टोलीको निष्कर्ष रह्यो ।”

प्रतिवेदन सार्वजनिक हुनासाथै सदनदेखि सडकसम्म विरोध सुरु भयो । प्रतिवेदनका डमीप्रति जलाइए । यस्तो प्रतिवेदन आउनुमा सरकार र प्रहरी सङ्गठनकै समेत चरम नालायकी भनियो । यो बलात्कार र हत्याकाण्डमा ठुला र पहुँचवाला व्यक्ति नै मुछिएकाले उनीहरूलाई जोगाउन यस्तो गरिएको आरोपसमेत लगाइयो । सामाजिक सञ्जालमा कतिपयले आफूलाई मन नपरेका र शङ्कास्पद लागेकाको नाम किटान गरेर पोस्टसमेत गरिरहे । फेरि केही हप्ता सडक तात्यो, सदन तात्यो, मिडिया ताते, थरी थरीका नागरिक समाज, एनजिओहरू ताते र व्रmमशः सेलायो पनि ।

यता बलात्कार र हत्यामा संलग्नहरू पनि केही समय सँगै काम गरेर बेग्लाबेग्लै क्षेत्रमा काम गर्न थालिसकेका थिए । बितेको पाँच वर्षकोे समयमा खलासी ट्रक ड्राइभर भइसकेको थियो । सहायक खलासी वैदेशिक रोजगारीमा गएर केही दिनको छुट्टीमा आएको थियो । उमेरले ५० नाघिसकेको ड्राइभर साहुको ट्रक चलाउन छाडेर आफ्नै ट्याक्सी चलाउने भइसकेको थियो । संयोगले पाँच वर्षपछिको एक दिन यी तिनै जनाको अचानक भेट भयो ।

लामो समयपछि भेट भएको खुसियालीमा पहिले सँगै काम गरेका तिनै जना बेलुकी रमाइलो गर्न भन्दै भेला भए । भट्टीमा खानपिन गर्दै गर्दा रक्सीको नसा चढ्दै गएपछि एकाएक रमलाको प्रसङ्ग निस्कियो । उनीहरूको कुरा अर्को टेबुलको मान्छेले सुनिरहेको छ भन्ने उनीहरूले हेक्का राखेनन् ।

दुई जना तत्कालीन खलासीले तत्कालीन गुरुजीलाई सोधे, “केटी कस्ती थिई गुरु ?”

“ए दामी थिई नि, अहिलेसम्म भेट्टाएकामध्येकै दामी !” यसो भन्दै गर्दा गुरुजीको स्वरमा कुनै पश्चात्ताप थिएन । तत्कालीन खलासीले पनि गुरुजीको कुरामा मुन्टो हल्लाउँदै सही थाप्यो, “हो मलाई पनि खुब मज्जा आएको थियो गुरु ।” उसको बोलीमा पनि कुनै पश्चात्ताप थिएन तर तत्कालीन सहायक खलासीलाई आज पनि उनीहरूबिचको यो संवाद पटक्कै चित्त बुझेन । ऊ भुतभुताउन थाल्यो, “तिमीहरूले पो केटीको ज्यानै जाने गरी मोज ग¥यौ ! मैले मौकै पाइनँ क्यार !”

उसलाई पश्चात्ताप थियो त त्यसबखत आफूले मौका नपाएकोमा मात्र थियो र भुतभुताइरह्यो पाँच वर्षअगाडि जस्तै । अनि पाँच वर्षअगाडि जस्तै नै उसलाई केही भन्ने वा सम्झाउने आँट आज पनि दुई जनाले गरेनन् । उसको कुरामा पश्चात्ताप नभएर कुण्ठा थियो । ऊ एकोहोरो कुण्ठा बर्बराइरह्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×