-उर्मिला थपलिया ‘सीता’

तिमीले देश बनाउँछु भन्यौ

म ढुक्क थिएँ तर एकाएक तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै

आफ्नै आमाको अस्मितामाथि औँला उठायौ।

माटो छोएर कसम खायौ तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

अनि आमाको महिमा गाइरह्यौ तर सन्तान हुनुको कर्तव्य भुल्यौ

काख र कोखको माया बिर्सियौ,

त्यसैले आज म ढुक्क होइन मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ

स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स तिमीमाथि असीम भरोसा बोकेर मतको भारी बिसाउने जनतालाई

नबिर्स जनता उभिएको माटोलाई

नबिर्स तिमीलाई आशिष दिने ति बा–आमालाई

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

र जुन दिन देश बिर्सिन्छौ त्यो दिन तिमी कस्को शासक बन्नेछौ, 

भन त्यो दिन तिमी कस्को शासक बन्नेछौ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×