-मनोजादित्य न्यौपाने

बच्चा बाँदरको मन बहलाउन

चिडियाखानामा लगिँदै थियो मुलायम खेलौना । 

तर ऊ पटक्कै खुसी थिएन ।

खेलौना न हो, 

चिडियाखाना जान्न भन्न पनि जान्दैनथ्यो 

अरू कुनै तरिकाले विरोध गर्न पनि सक्दैनथ्यो 

किनकि ऊसँग आवाज थिएन

न त कुनै त्यस्तो विशेष शक्ति नै थियो ।

चिडियाखानामा लगिँदै थियो खेलौना । 

मेरो प्रिय कथाकार यो दृश्य देखेर दुःखी थियो । ऊ बाँदरको हातमा खेलौना दिनुलाई उचित मानिरहेको थिएन । यसलाई ऊ खेलौनामाथिको अन्याय ठानिरहेको थियो । मलाई भने मजा लागिरहेथ्यो । पाठक न परेँ म । कथा लेख्न जान्दिनँ । जानेको भए आफूलाई पाठक भन्नुको सट्टा लेखक नै भन्थेँ हुँला । अर्को कुरा, खेलौनालाई चिडियाखाना लैजानबाट रोक्ने तागत पनि थिएन मसँग । मेरो ठम्याइमा, जुन दृश्यले कथाकारलाई जति बढी दुःखी तुल्याउँछ, त्यत्ति नै नयाँ र शक्तिशाली कथाको जन्म हुने सम्भावना बढेर जान्छ । त्यसैले कथाकार दुःखी हुँदा खुसी थिएँ म ! खेलौना पात्र बनेको कथा कस्तो नौलो स्वादको होला ! 

कपास र कपडाले बनेको मुलायम खेलौनालाई मान्छेले बैठक कोठामा सजाउँछन् । केटाकेटी ऊसँग रमाएर खेल्छन् । युवायुवतीले राति ओछ्यानमा एक्लै हुँदा त्यसलाई अँगालोमा च्याप्छन् ! चुप्पा खान्छन् ! प्रेमका कुरा गर्छन् । युवायुवती मात्र किन, बुढाबुढीले पनि खेलौनालाई स्नेहपूर्वक अँगालो हाल्छन् । आफूसँग कुरा गर्ने कोही नहुँदा उसैसँग कुरा गर्छन् । कसैसामु पोख्न नसकेको गुनासो उसैसँग पोख्छन् । पति विदेशमा हुनेहरू पतिमाथिको प्रेम खेलौनामाथि नै पोख्छन्, उसैसँग रुन्छन् र उसैले आँसु पुस्छन् । 

मान्छे स्वार्थी र विश्वासघाती हुँदै गएको वर्तमान समयमा खेलौनालाई मान्छेले साथी ठान्छन् । आफन्त नै मान्छन् । त्यसैले त खेलौनालाई सिरानी छेउमा राख्छन् । मैलो भएमा नुहाइदिन्छन् । गजब कुरा चाहिँ के छ भने, यति माया गरेको खेलौना पुरानिएपछि वा च्यातिएपछि मान्छेहरू त्यसलाई सँगै राख्न चाहँदैनन् । त्यस अवस्थामा खेलौनालाई कवाडको भाउमा बेचिदिन्छन् । कतिले त सित्तैमा पनि दिन्छन् । अहिलेको भागदौड, प्रतिस्पर्धा र जटिल समयमा मान्छे तनावमा छन्, एक्लोपनले ग्रसित छन् । त्यसैले तिनले खेलौनालाई खुबै माया गर्छन् । खेलौना पनि मान्छेसँग खुबै रमाउँछन्, घरपालुवा कुकुर जस्तै ! तर यहाँ जुन खेलौनाको कुरा गरिँदै छ, त्यो मान्छेको घरमा पुग्दै थिएन, चिडियाखाना पुग्दै थियो । 

(स्मरण रहोस्, कथाकार खेलौनाभित्र पसेको थियो । त्यसैले खेलौनाले दुःखी हुने र खुसी हुने शक्ति प्राप्त गरेको थियो । ) 

त्यसो त खेलौना 

मान्छेको घरमा पुग्न चाहन्थ्यो र तिनको

स्पर्श, अँगालो र चुम्बनको सुख लिन चाहन्थ्यो । 

चिडियाखाना परिसरभित्र पुग्दासम्म उसलाई 

सजाय भोगाउन जेलतिर लगे जस्तो लागेको थियो । 

तर के गरोस्, 

ऊ चाहेर पनि केही गर्न सक्तैनथ्यो 

त्यसैले त ऊ खेलौना थियो । 

मेरो प्रिय कथाकार भने

आवाजविहीन खेलौनाको पीडासँग परिचित थियो ।

ऊ यसलाई शब्दमा अनुवाद गर्न चाहन्थ्यो । 

चिडियाखानाका कर्र्मचारीको क्वाटरमा बस्न पाएको भए खेलौना दुःखी हुने थिएन । चिडियाखानाभित्रकै कुनै कार्यालयको कोठामा बस्न पाएको भए पनि रमाउँथ्यो । त्यसो हुँदा उसलाई अनाहकमा सजाय पाए जस्तो लाग्ने थिएन ।

उसलाई त एउटा त्यस्तो बच्चा बाँदरको हातमा सुम्पिँदै थियो, जसलाई उसकै आमाले अँगालोमा राख्न चाहिन, काखमा बस्न दिइन, दुध चुसाउन मानिन । यति गर्दा पनि बच्चा बाँदरले आमालाई अनेक पटक पछ्याएको थियो । ममताका निम्ति गर्नुसम्म बिन्तीभाउ गरेको थियो । नगरोस् पनि किन, यो दुनियाँका बारेमा उसलाई केही थाहा थिएन । आमाको गर्भमा हुँदा दुनियाँ बुझिँँदैन । जब उसले धर्ती देख्यो, त्यहाँ सङ्घर्ष नै सङ्घर्ष गरेर बाँच्नुपर्ने कुरा थाहा पायो । साथी चाहिने रहेछ भन्ने बुझ्यो । माया चाहिने रहेछ भन्ने जान्यो ।

ऊ थियो बच्चा । शारीरिक रूपमा पनि अरूभन्दा निकै कमजोर थियो । बाँदरको दुनियाँमा अस्पताल हुँदैन । हुँदो हो त उसलाई पनि उपचारका निम्ति अस्पताल लगिँदो हो । यसो भन्नुको अर्थ उसलाई सहाराको निकै खाँचो थियो तर जति प्रयास गरे पनि आमाको मन पगाल्न सकेन उसले । सायद आमाले ठानेकी हुँदी हो, “यो धेरै दिन बाँच्दै बाँच्दैन । यसलाई माया गर्नु भनेको यसको पीडाका दिन लम्ब्याउनु मात्र हो । त्यसैले यसलाई माया गर्नु बेकार छ ।” 

म ती बाँदर्नीआमाले किन त्यस्तो व्यवहार गरिन् भन्न सक्तिनँ । कथाकारले यसबारे केही लेख्लान् । मेरो मनमा उठेका यस्ता प्रश्नको जवाफ कथामा आउलान् नआउलान्, “किन आफैँले जन्म दिएको सन्तान भए पनि बादर्नीआमाले उसलाई छेउमा आउन दिइन ? आउँदा उसलाई भुत्ल्याई मात्र, पर जा भनेर उसकै भाषामा हप्काई मात्र, पिटी मात्र, लखेटी मात्र । यस्तो किन ?” 

आमाले त्यागेको बच्चालाई बाँदरको समुदायमा अरूले पनि साथ दिँदैनन् । कसैले उसको जिम्मेवारी लिँदैनन् । लिँदैनन् मात्र होइन, उसलाई छेउमै आउन दिँदैनन् । बच्चो बाँदरलाई पनि कसैले छेउ पर्न दिएनन् । 

बच्चो बाँदर एक्लो भयो 

नितान्त एक्लो ।

आमाविहीन, साथीविहीन । 

ऊ देख्थ्यो, 

उसकै उमेरका बच्चालाई तिनकी आमाले छातीमा च्यापेको

कोही तिनका आमाका पिठ्युँमा बसेको

कोही आमाले आङको जुम्रा हेरिदिँदा रमाएको ।

कथाकार खेलौनाभित्र पसेको थियो । 

त्यसैले खेलौनाले सोच्ने शक्ति प्राप्त गरेको थियो । 

चिडियाखानापरिसर नपुगुन्जेलसम्म खेलौनालाई बच्चा बाँदरको बारेमा धेरै कुरा थाहा थिएन । त्यसैले ऊ आफैँसँग सोध्दै थियो, “त्यस बच्चा बाँदरका निम्ति किन मलाई नै रोजियो ? मलाई नै चिडियाखाना लायक किन 

सम्झिइयो ?” आवाज नभएका कारण ऊ अरूसँग यो प्रश्न सोध्न सक्दैनथ्यो । उसको अनुहार ओराङओटाङको जस्तो थियोे । त्यसैले उसलाई आफ्नै अनुहारसँग रिस उठ्यो । रिस उठेर के गर्नु, उसले अनुहार फेर्न त सक्दैनथ्यो । “ओराङओटाङको जस्तो अनुहार नभएको भए, यहाँ आउनु पर्दैनथ्यो 

कि ? पान्डाको जस्तो अनुहार परेको भए सायद यहाँ ल्याइँदैनथ्यो कि ?” खेलौनालाई यस्तो लाग्यो । 

कथाकार खेलौनालाई न्याय दिलाउने सोचमा थियोे । म कथाकारको छेउछाउमै थिएँ । मेरो ध्यान कथाकार, खेलौना, बाँदर र चिडियाखाना… सबैतिर थियो । कथाकारको छटपटी देख्दा यस्तो लाग्थ्यो, ऊ प्रसव पीडामा छ । कथा अवश्य जन्मिने छ । 

खेलौनाको मनमा यसरी कुरा खेल्दै थिए, “बाँदर धुलो माटोमा उफ्रिन्छ । उसको जीवन नै माटोमा खेल्ने हो । ऊ आफैँ त राम्रोसँग सफा हुन जान्दैन । साबुन र स्याम्पु केलाई भन्छन्, त्यो उसलाई थाहा छैन । त्यस्तो बच्चा बाँदरले मलाई कसरी नुहाइदेला ? अवश्य नै नुहाइदिँदैन । म कति फोहोरी देखिउँला ? मेरो शरीरमा धुलैधुलो र मैलैमैलो देखेपछि चिडियाखाना हेर्न आएका दर्शकले मलाई कति घृणा गर्दा होलान् ? आफूलाई सबैको हेपेको सम्झेर बच्चा बाँदरले मलाई भुत्ल्याउने–पिट्ने–पछार्ने र च्यात्ने त होइन ? मेरो असमयमै मृत्यु हुने त होइन ?’’

जब खेलौना बच्चा बाँदरको हातमा पुग्यो, कथाकार खेलौनाभित्रै थियो । 

बच्चा बाँदरको चोखो माया र न्यानो अँगालो 

यति आत्मीय र अद्भुत थियो कि 

कथाकार आश्चर्यचकित भयो । 

बच्चा बाँदरले खेलौनालाई प्राणहीन ठानेन । 

ऊ नबोले पनि, उसले दूध नचुसाए पनि, 

उसलाई आमा ठान्यो, 

साथी मान्यो ।

खेलौनाले पनि बच्चा बाँदरलाई 

तिरस्कार गरेन

हेपेन, पिटेन, लखेटेन ।

चाहेको भए जे पनि गर्न सक्थ्यो

किनकि त्यो शक्ति लेखकले प्रदान गरिसकेको थियो । 

खेलौनाले कुनै दुव्र्यवहार नगरेकाले 

बच्चा बाँदर मक्ख प¥यो ।

खेलौना हिँड्न सक्दैनथ्यो

बोल्न सक्दैनथ्यो

बच्चा बाँदरलाई छातीमा च्याप्न सक्दैनथ्यो,

पिठ्युँमा राख्न सक्दैनथ्यो ।

तर पनि बच्चा बाँदरले कुनै गुनासो गरेन । 

आफू जहाँ जाँदा पनि साथसाथै लिएर गयो । 

आफ्नो पीडा ऊसँगै पोख्यो । 

पीर पर्दा उसकै छातीमा आफ्नो मुहार लुकाएर रोयो ।

कसैले खेलौना खोस्न खोजे भने

त्यससँग लड्यो तर खोस्न कुनै हालतमा पनि दिएन । 

खेलौनाको साथ पाएपछि बच्चा बाँदरले 

जिउने सहारा पायो ।

कहिलेकाहीँ यस्तो लाग्थ्यो– 

बँच्चा बाँदर खेलौनाको आमा हो र ऊ आमा हुनुको कर्तव्य निर्वाह गरिरहेको छ । 

कथाकार बाहिर निस्कँदा पनि खेलौनामा स्पन्दनको आभास पायो । त्यसमा प्राण सञ्चार भएको देख्यो । यो देखेर अचानक लेखकको दिमागमा यस्तो हरफ फु¥यो, “एउटी आमाले आफ्नो बच्चालाई परित्याग गरिन् तर त्यही परित्यक्त बच्चाले खेलौनामा प्राण सञ्चार ग¥यो ।” 

लेखक खेलौनालाई मुख्य पात्र बनाउने सोचमा थियो, बच्चा बाँदरको व्यवहारले उसको त्यो सोच बदलिदियो । जो एकछिन अघिसम्म खेलौनामाथि अन्याय भएको ठान्दैथ्यो, एकछिनपछि सही पात्रका हातमा खेलौना पुगेको ठम्याइमा पुग्यो । कथाकारका लागि खेलौना अब एउटा सुन्दर विम्ब बन्यो । जुन विम्ब वर्तमानमा बाँचिरहेको मानिसको लागि भने व्यङ्ग्य बन्यो । अब कथाकारलाई खेलौनाभित्र बसिरहनु पर्छ जस्तो लागेन र ऊ बच्चा बाँदर र खेलौनाका व्रिmयाकलाप हेर्न झुम्मिएका मानिसको भिडमा मिसियो ।

बच्चा बाँदर र खेलौनाको प्रेमलाई कोही रमिता मानेर हेर्दै थिए । कोही आफ्नै जीवनको कथाको प्रतिविम्ब त्यहाँ देख्दै थिए । कोही क्यामेरामा दृश्य कैद गर्दै यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै थिए । खेलौनाले कल्पना गरेको थिएन, यसरी चिडियाखानामा आएको केही दिनमै भाइरल हुँला भनेर । 

अचानक लेखक एकछिनलाई बच्चा बाँदरभित्र पस्यो । उसलाई बच्चा बाँदरले खेलौनासँग यसो भने झैँ लाग्यो, “तिमी मसँग नबोले पनि म रिसाउँदिनँ । मलाई दुध नपियाए पनि गुनासो गर्दिनँ । जेसुकै गर तर मलाई घृणा नगर । तिरस्कार नगर । एक्लै नछोड । यो चिसो भुइँमा तिमी हुँदा मलाई न्यानो लाग्छ । तिमीले छोडे म कोसँग खेल्नु ? कोसँग सुत्नु ? मेरा दुखेसो कसलाई सुनाउनु ?”

बच्चा बाँदरको कुराको जवाफ दिन लेखक खेलौनाभित्र पस्यो र बोल्यो, “म कपडा र कपासको निर्जीव थुप्रो थिएँ । त्यसमा तिमीले प्राण भ¥यौ र खेलौनाबाट आमा बनाइदियौ । म तिम्रो प्रेम, आलिङ्गन, स्पर्शलाई भुल्न सक्दिनँ । तिम्रा आँसुका प्रत्येक थोपाले मभित्र संवेदना जगाएका छन् । सुरुमा म यहाँ आउँदा निकै दुःखी थिएँ । तिम्रा आँखामा जब प्रेमको असीम गहिराइ देखेथेँ तब तत्कालैै मैले निर्णय गरेथेँ– तिमीलाई छोडेर कतै जान्नँ । तिम्रो स्पर्शमा जुन जादु छ, त्यो मैले मान्छेको स्पर्शमा कहिल्यै अनुभव गरिनँ । मान्छेले मलाई निर्जीव खेलौनाभन्दा बढ्ता कहिल्यै ठानेनन् । म पसलमा हुँदा जतिले मलाई सुमसुम्याए, म्वाई खाए; तिनले मलाई वस्तु मात्र ठाने । प्राण भनेको सच्चा प्रेम रहेछ । त्यो मैले तिमीबाट पाएँ ।” 

कथाकार कहिले बच्चा बाँदरभित्र पस्थ्यो 

कहिले खेलौनाभित्र 

कहिले दर्शक बन्थ्यो 

कथाको माग अनुसार ऊ

आफ्नो भूमिका परिवर्तन गरिरहन्थ्यो ।

एउटा बच्चा बाँदरले स्थापित लेखकको तुलनामा राम्रोसँग संवेदनाको महìवमाथि प्रकाश पार्नु भनेको चानचुने कुरा थिएन । कथाकार यो देखेर चकित थियो । बच्चा बाँदरसँग शब्द छैन, खेलौना छ । शब्द हुन्थ्यो त उसले लेख्ने कथा होस् वा कविता, त्यो कति शक्तिशाली हुन्थ्यो होला । खेलौना निर्जीव छ तर त्यसले पनि धेरै कुरा भनिरहेको छ । त्यो भन्ने शक्ति उसलाई बच्चा बाँदरबाट प्राप्त छ । कथाकारले आफूलाई बच्चा बाँदरसँग यसरी तुलना ग¥यो, जसले गर्दा उसलाई त्यो बाँदर र खेलौना आफूभन्दा मानवीय, संवेदनशील, उदात्त लाग्यो । 

मलाई भने यस्तो लाग्दैथ्यो– यो कथाकार बच्चा बाँदरलाई प्रतिस्पर्धी ठानिरहेछ । कतै कथाकार कथा नलेख्ने मानसिक स्थितिमा त पुग्ने होइन । एउटा पाठकका रूपमा मभित्र डर पलायो । 

एक रात कथाकार कथाको मसौदा गरिरहेको थियो–

उसको मनमा एउटा चिडियाखाना थियो 

चिडियाखानाभित्र बच्चा बाँदर थियो

खेलौना थियो 

अरू अरू बाँदरहरू थिए । 

चिडियाखाना घुम्न आउने मानिस पनि थिए । 

एक्कासि बच्चा बाँदरले कथाकारलाई सोध्यो,

‘तिमी किन कुनै खेलौनालाई साथी बनाउँदैनौ ?’ 

कथाकार झसङ्ग भयो । पात्रले नै उसलाई गिज्याउनुको कारण बुझ्न नसकेर अलमल्ल प¥यो । उसले आफैँसँग प्रश्न ग¥यो, “मलाई माया गर्ने आमा हुनुहुन्छ, श्रीमती छिन्, छोरी छिन् र पनि आफ्नै कथाको पात्रले खेलौनालाई साथी बनाउन किन भन्दै छ ?” उसले भेउ पाउन सकेन । 

कथाकार असमञ्जस्य स्थितिमा देखेर खेलौनाले बच्चा बाँदरलाई भन्यो–

लेखकलाई खेलौना चाहिँदैन

उनीहरू शब्दसँग खेल्छन्

शब्दसँगै रुन्छन्, शब्दसँगै हाँस्छन् 

शब्दकै अगाडि गुनासो पोख्छन्

शब्दसँगै सुत्छन् 

शब्दलाई साथी बनाउन जान्नेहरूले 

आफ्ना रचनामार्फत नै दुस्मनहरूसँग बदला लिन्छन् ।

“लेखकका लागि शब्दहरू खेलौना नै हुन् त ?” बच्चा बाँदरले सोध्यो । 

खेलौनाले भन्यो, “लेखकहरू पनि कृत्रिम हाँसो, कृत्रिम आत्मीयता, कृत्रिम मित्रता, कृत्रिम माया

कृत्रिम यो, कृत्रिम ऊ, कृत्रिम त्यो … बाट पीडित हुन्छन् । ”

त्यसैले तिमी मसँग रमाए जस्तै लेखकहरू शब्दसँग रमाउँछन् ।

कथाकार मर्माहत भयो । 

उसलाई आफ्नै कथाका पात्रले आफ्नो उपहास गरे जस्तो लाग्यो । 

त्यसपछि कथाकारले कलम बन्द ग¥यो र झ्यालबाट बाहिर हेर्न थाल्यो । आकाशमा पूर्णचन्द्र उदाएका थिए । उसले आज पूर्णिमाको रात हो भन्ने बल्ल थाहा पायो र एकछिन एकटकले चन्द्रमा हेरिरह्यो । त्यसपछि कोठातिर आँखा दौडायो । कोठाभित्र श्रीमती स्व्रिmनमा के के हेर्दै थिइन् । उनको अनुहार दुःखी देखिन्थ्यो । स्व्रिmनमै आएका कन्टेन्टले दुःखी बनाएको हो कि अरू केहीले ? बुझ्न सकेन उसले । उनले दुई दिन कतै घुम्न जाऊँ, भनेको तीन वर्ष भयो । यो कुरा सम्झँदा उसलाई नरमाइलो लाग्यो । टाढा जाऊँ, भनेकी पनि होइनन्; विदेश जाऊँ, भनेकी पनि होइनन् । यस्तै पोखरा, पाथीभरा, मनकामना जस्ता ठाउँ जाऊँ, भनेकी हुन् । ती ठाउँ जानलाई खर्च गर्न नसक्ने पनि होइन लेखक तर किन हो ऊ कहिल्यै फुर्सद पाउँदैन । आज यो कार्यव्रmम छ भन्छ, भोलि त्यो मिटिङ छ भन्छ । कहिले यो लेख लेखेपछि मात्र फुर्सद पाउँछु भन्छ । यसो र उसो भन्दाभन्दै वर्ष बितेर जान्छ । उनले आफू जन्मेको गाउँ भोजपुर देखाउनूस् त पनि भनेकी हुन् । लेखकलाई पनि आफ्नो जन्मघर–जन्मगाउँ जान मन लागेको हो तर त्यसका लागि पनि उसले फुर्सद निकाल्न सकेको छैन । कतै कार्यव्रmममा र साथीभाइसँग बोल्दा भने भोजपुरप्रति अगाध माया छ भन्छ । लेखकलाई आफू अति स्वार्थी भएको अनुभूति भयो ।  लेखककी छोरी स्कुलको होमवर्क गर्नमा व्यस्त थिइन् । उनी अघि बाबाको काखमा बस्न खोज्दा उसले भनेको थियो, “छोरी अहिले मलाई डिस्टर्ब नगर । बाबा अहिले कथा लेख्दै छु ।” उसलाई सानी छोरीमाथि अन्याय गरे झैँ लाग्यो । 

“छोरी खेल्न आउँदा पनि टक्टकिने म र त्यो आफ्नो सन्तानलाई परित्याग गर्ने माउ बाँदरमा के नै फरक भयो र ?” उसले आफैँसँग प्रश्न ग¥यो । 

त्यसपछि उसले आमालाई सम्झ्यो । आमालाई पनि उसले समय कहाँ दिएको छ र ! दिनको दुई÷चार मिनेटबाहेक बढी समय दिन सकेको छैन उसले । प्रायः ऊ अफिस जानेबेलामा ‘गएँ आमा’ भन्न र राति एकचोटि ‘खाना खानुभयो, दबाइ खानुभयो’ भन्न मात्र आमालाई भेट्छ । 

कथाकारलाई आफ्नो परिवारका सदस्यसँग मौन सम्बन्धविच्छेद भए जस्तो लाग्यो । यस कुराले उसलाई भक्कानो छुट्ला जस्तो भयो र ऊ कुर्सीबाट उठेर आमाको कोठातिर गयो । “आमा, आमा, 

आमा !!” उसले ठुलै स्वरमा बडो प्रेमपूर्वक आमालाई बोलायो । आमाले कुनै जवाफ दिइनन् । 

यति चाँडै त आमा निदाउनुहुन्नथ्योे । आमा कतै बिरामी त पर्नु भएन भन्ने सोचेर ऊ निधार छाम्न पुग्यो । आमाको निधार चिसो न चिसो भइसकेको थियो । डराउँदै हातको नाडी छाम्यो, त्यहाँ कुनै स्पन्दन थिएन । छातीमा हात राखेर सास चलेको, नचलेको थाहा पाउने प्रयास ग¥यो । त्यहाँ पनि कुनै स्पन्दन थिएन । नाक छेउमा हत्केला लग्यो । सास चलेको थिएन । ऊ भक्कानिँदै रुन थाल्यो । 

रुवाइ सुनेर श्रीमती पल्लो कोठाबाट हतारिँदै आइन् । उसले श्रीमतीलाई अँगालो हालेर सुकसुकाउँदै भन्यो, “हेर न, आमाले हामीलाई कति छिट्टै टुहुरो बनाउनुभयो ।’’

यस्तो अवस्थामा कथा लेखन सम्भव हुने कुरै भएन । त्यसैले कथाकार शवयात्राको तयारीमा लाग्यो । म पाठक मात्र नभएर कथाकारको घनिष्ठ मित्र पनि हुँ र छिमेकी पनि । त्यसैले शवयात्राका लागि मलामी बोलाउने काममा जुटेँ । मलामी जुटाउने मात्र होइन; कात्रो किन्नेदेखि शवबाहन बोलाउनेसम्म र घाटमा शव पु¥याएपछि दाउरा र पण्डित खोज्ने कामसम्ममा मैले लाग्नुपर्ने भयो । 

यसरी अघिसम्म कथाकार जुन कथाको मसौदा गर्दैै थियो, अब त्यसको पात्र पनि बन्न पुग्यो । 

अहिले तपाईं जे पढ्दै हुनुहुन्छ, यो त कथाको रचना गर्भ मात्र हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×