प्रतिनिधि सभाबाट भूमि सम्बन्धी विधेयक, २०८२ बहुमतले पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ बहुमतले पारित भएको छ । 

विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी ऐनहरूमा बाझिएका विषयमा एकरुपता कायम गरी स्पष्ट बनाउन विधेयक आवश्यक परेको बताउनुभयो ।

मन्त्री अधिकारीले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा प्राकृतिक प्रकोपको उच्च जोखिम युक्त स्थान रहेको अवस्थामा बाहेक हाल हाल बसोबास गरिरहेको जग्गा नै उपलब्ध गराउने विधेयकको उद्देश्य रहेको पनि सदनलाई जानकारी दिनुभयो ।

बैठकमा सांसदहरूले विधेयकमा भूमिको वैज्ञानिक वर्गीकरण गर्ने तथा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने जस्ता महत्वपूर्ण विषयहरू समेटेको भएपनि हदबन्दी भन्दा बढीको जग्गा बिक्री तथा सट्टापट्टा गर्न सकिने, बन क्षेत्रको जग्गा पुनः नक्साङ्कन गर्न सकिने जस्ता केही प्रावधानले अनियमिता र स्वार्थसमूह हाबी हुन सक्ने आशङ्का बढाएको बताउनुभयो ।

यस्तै प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिकता दोस्रा संशोधन विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ १८ गते बुधबार दिनको १ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×