चुनावको तयारीमा जुट्न कार्यकर्तालाई डा. कोइरालाको आग्रह

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

विराटनगरस्थित कोइराला निवासमा पुगेर शनिबार निरीक्षण गर्नुभएका नेता कोइरालाले जनआन्दोलनको बिगुल फुकेको कोइराला निवासलाई जलाएर इतिहास मेटाउने प्रयास गरिएको टिप्पणी गर्नुभयो। उहाँले युवाहरूको आन्दोलनभित्र पसेर हिंसा गराउनेको विस्तारै पर्दाफास हुने र उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो।

डा. कोइरालाले आफ्नो जलेको निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाउनुभयो। हालैको संसद विघटनको सन्दर्भमा बोल्दै डा. कोइरालाले यसलाई संविधानसम्मत नभएको तर, देशलाई थप क्षतिबाट जोगाउने विकल्पको रूपमा प्रयोग गरिएको स्पष्ट गर्नुभयो।

राष्ट्रपतिले संविधानलाई पूर्णरूपमा छिन्नभिन्न हुनबाट जोगाउन सफल भएको उहाँले बताउनुभयो। डा. कोइरालाले नेपाली कांग्रेसका सबै कार्यकर्तालाई २१ फागुनमा तोकिएको चुनावको तयारीमा जुट्न आह्वानसमेत गर्नुभयो। संयमता र निडरताका साथ निर्वाचनमा होमिन आग्रह गर्दै उहाँले प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मागहरू अहिलेको संविधानले स्वीकार नगर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×