सोमबार रातिदेखि हिमपात र वर्षाको सम्भावना

काटमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ। 

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।

सोही प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ।

यसैगरी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जनजीवन,पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अप्नाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×