मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त

काठमाडौं । मधेश प्रदेशमा नेकपा (एमाले), संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मिलित संयुक्त सरकार गठन गरिएको छ।

सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका एमाले नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको हो।

नवगठित सरकारले एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्रीमा नियुक्त गरेको छ। संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट मात्र रहेको छ।

यसअघि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिनुभएकाे थियाे। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे।

स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्नुअघि प्रदेश प्रमुख भण्डारीले बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्री यादवलाई शपथ खुवाउनुभएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×