विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले जनताको सहजताका लागि देशका विभिन्न स्थानमा थप इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

मन्त्री खरेलका अनुसार सरकारले ताप्लेजुङको सिरिजंघा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बिपी नगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र सङ्खुवासभाको हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको छ ।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्षको पुष १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने तथा नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

यस्तै बैठकले वैदेशिक रोजगारीको सिलसिलामा इराक गएर त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र प्रतिलिपि सहित आवेदन दिएमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने, नेपाल सरकार र जापान सरकार बीच जिटको परियोजना अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायम मुकरर गर्ने लगायतका निर्णयहरू गरेको सञ्चार मन्त्री खरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×