मेलबर्न। अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समुदाय सनातन वैदिक धर्म, संस्कृति तथा भजन परम्पराको संरक्षण
र संवर्द्धन एवं पुस्तान्तरण गर्ने उद्देश्यका साथ आध्यात्मिक गतिविधिहरूमा सहभागी हुने क्रम बढेको छ ।
यसै क्रममा मेलबर्नस्थित नेपाली मन्दिरमा नियमित रूपमा महिना भरिनै भजन कीर्तन सहित नाचगान र भक्तिभाव प्रस्तुत गर्ने गरिएको छ।
आध्यात्मिक गतिविधिहरू फरक फरक समूहद्वारा सञ्चालन भइरहेको छ, जसअन्तर्गत एउटा टोलीले प्रत्येक शनिबार बेलुकी साढे पाँच बजेदेखि नियमित भजन कीर्तन गर्दछ भने अर्कोतर्फ युवा समुदायले पाक्षिक रूपमा अर्थात् महिनाको पहिलो र तेस्रो आइतबार बेलुकी साढे पाँच बजे नै विशेष भजन कार्यक्रम चलाउँदै आएका छन्।
विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर चलिरहेको यस साप्ताहिक भजन कीर्तनका अलावा आयोजकहरूले समय-समयमा भव्य ‘महा-भजन’ कार्यक्रम समेत आयोजना गर्ने गरेका छन्।
भजन कीर्तनमा हालसम्म ५०० को हाराहारीमा भक्तजनहरूको उपस्थिति भइसकेको छ र यो संख्या लगातार बढ्दो क्रममा छ।
हालै मात्र दोस्रो महा-भजन सफलतापूर्वक सम्पन्न भइसकेको परिप्रेक्ष्यमा आयोजकहरूले अब छिट्टै नै तेस्रो महा-भजन आयोजना हुने दिन घोषणा गर्ने तयारी गरिरहेका छन्।
भजन कीर्तनको यस आध्यात्मिक लहरकै बीच मेलबर्नको नेपाली मन्दिरमा करिब ३० वर्षका युवा रवी योन्जनको नेतृत्व र संयोजनमा पवित्र बौद्ध पर्व ‘सागा दावा दुचेन २०२६’ कार्यक्रम समेत भव्यताका साथ सम्पन्न भएको छ।
तिब्बती बौद्ध क्यालेन्डर अनुसार चौथो महिनालाई ‘सागा दावा’ भनिन्छ, जसलाई बौद्ध दर्शनमा अत्यधिक पुण्य आर्जन गर्ने महिनाको रूपमा लिइन्छ। सन् २०२६ मा यो पवित्र महिना मे १७ तारिखदेखि जुन १५ तारिखसम्म रहने तालिका रहेको छ।
