बेल्जियममा मिथिला कला र सम्पदाको प्रदर्शनी भव्यताका साथ सम्पन्न

ब्रसेल्स । नेपाली दूतावास र मिथिला केन्द्र अमेरिका र युरोपेली बाह्य कार्य सेवा (EEAS) को सहकार्यमा ब्रसेल्समा ‘ दिगो विकास लक्ष्यका लागि कला: मिथिला सम्पदा’ शीर्षकको मिथिला कला प्रदर्शनी सुरु भएको छ।

प्रदर्शनी उद्घाटन समारोहमा कुटनीतिक नियोगका राजदूतहरू, बेल्जियमको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, युरोपियन युनियनका उच्चस्तरीय अधिकारीहरू, मिथिला कलाकारहरू, सञ्चारकर्मीहरू र नेपाली प्रवासीहरू लगायत विशिष्ट अतिथिहरू सहभागी भएका थिए।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूको दृष्टिकोणबाट मिथिला सम्पदा प्रस्तुत गर्दै, कार्यक्रमले आदिवासी सांस्कृतिक सम्पदा र विश्वव्यापी विकास एजेन्डालाई स्थापित गर्न प्रदर्शनीले उल्लेखनीय योगदान पुग्ने सहभागीहरुको धारणा थियो ।

कार्यक्रममा नेपाल र युरोपियन युनियनकाको धुन बजाएर सुरु भएको उद्घाटन समारोहमा बेनेलक्स देशहरूका लागि नेपालका राजदूत सेवा लम्साल र युरोपेली संघका लागि मिसन प्रमुख, EEAS मा एसिया र प्रशान्त क्षेत्रका लागि उपप्रबन्ध निर्देशक डोमिनिक पोर्टरले पानसको संयुक्त रूपमा दीप प्रज्वलन गरे।

बेल्जियमको एफपीएस विदेश मामिला, विदेश व्यापार र विकास सहयोगका प्रोटोकल प्रमुख पियरे कार्टुइभेल्स र मिथिला केन्द्र अमेरिकाका अध्यक्ष अमित प्रताप शाहले आफ्नो उद्घाटन मन्तव्यमा अतिथिहरूलाई स्वागत गर्दै समृद्ध र रंगीन मिथिला कला परम्पराको इतिहाँस बताएका थिए। शाहले मिथिला कलाको महत्त्वलाई केवल सांस्कृतिक सम्पत्तिको रूपमा मात्र नभई विकास उपकरण, कूटनीतिक उपकरण र राष्ट्रिय गौरवको स्रोतको रूपमा पनि जोड दिए ।

शाहले स्मरण गर्दै भने, ‘बेसार, नील, चामलको धुलो र बत्तीको कालोबाट प्राप्त प्राकृतिक रंगद्रव्यहरू प्रयोग गरेरदेवी सीताको जन्मस्थल मिथिला क्षेत्रको प्राचीन सभ्यताको केन्द्रबिन्दुमा यसको उत्पत्ति पत्ता लगाउँदै  ग्यालरी वा संग्रहालयहरूको अस्तित्वभन्दा शताब्दीयौं अघि महिलाहरूले माटोको भित्ता र माटोको भुइँमा चित्र निर्माण गर्छन ।’

यस जीवित सम्पदाको संरक्षण गर्ने नेपालको प्रतिबद्धतालाई उजागर गर्दै, राजदूतले अन्तर्राष्ट्रिय समुदायलाई यसको वास्तविक तत्वमा कलाको रूप अनुभव गर्न नेपाल भ्रमण गर्न हार्दिक आमन्त्रित गरिन। कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा उनले EEAS प्रति कृतज्ञता पनि व्यक्त गरिन्। यसका साथै, उनले मिथिला सेन्टर युएसएलाई यस गहिरो परम्परालाई जीवित राख्न महत्वपूर्ण सहयोग र वकालत गरेकोमा धन्यवाद दिदै महिला कलाकारहरूको पुस्तालाई समानअर्पण गरिन ।

EEAS का पोर्टरले ब्रसेल्समा मिथिला सम्पदाको सुन्दरता र गहनता ल्याएकोमा राजदूत लम्साल र टोलीलाई बधाई दिए। २०३० सम्ममा SDGs प्राप्त गर्ने नेपालको निरन्तर प्रतिबद्धतालाई स्वीकार गर्दै उनले लक्ष्यहरू प्राप्त गर्न नेपालको दृढ साझेदारको रूपमा EU को प्रतिबद्धतालाई पुन: स्मरण गरे।

बेल्जियमको विदेश मन्त्रालयका महामहिम कार्टुइभेल्सले नेपाल र बेल्जियमको न्यानो र सौहार्दपूर्ण सम्बन्धलाई प्रकाश पारे र मिथिला महिला कलाकारहरूले सिर्जना गरेका कलाकृतिहरूको प्रशंसा गरे।

मिथिला सेन्टर युएसएको प्रतिनिधित्व गर्दै शाहले मिथिला कलाको आफ्नो व्यक्तिगत यात्रा र न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय सहित अन्तर्राष्ट्रिय मञ्चमा यसको प्रतिनिधित्व साझा गरे। भविष्यलाई अनुमान गर्दै शाहले विश्वव्यापी क्षेत्रहरूमा मिथिला कलाको स्थायी संग्रहालय स्थापना गर्ने संस्थाको दूरदर्शी उद्देश्य साझा गरे ।

महामहिम लम्सालले मिथिला कलाकारहरू र मिथिला सेन्टर युएसएका प्रतिनिधिहरू एस.सी. सुमन, अमित प्रताप शाह, नवल किशोर यादव, प्रतीक एस. रायमाझी र शिवांगी सिंहलाई मिथिला कलाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा मिथिला खादा; परम्परागत मिथिला लोक कला सहितको स्कार्फले सम्मान गरिन। प्रदर्शनीमा सुश्री मनीषा शाह र सुश्री सुनैना ठाकुरका कलाकृतिहरू पनि प्रदर्शनमा राखिएका थिए। सहभागी वक्ता र राजदूतहरूलाई सम्मानको प्रतीकको रूपमा मिथिला खादा पनि प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली र मिथिला कलाकारहरूद्वारा प्रत्यक्ष सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। परम्परागत पोशाकमा सजिएका कलाकारहरूले परम्परागत मैथिली नृत्य झिजिया र नेपाली लोकनृत्य प्रस्तुत गर्दै दर्शकहरूलाई आफ्नो भव्यताले मोहित पारे।

कार्यक्रम मिथिला खानाको स्वादसँगै समापन भयो, जसमा थेकुवा, कचरी, मखाना चाट, फोपी, फुलौरी, आँप र लस्सी समावेश थिए। विशिष्ट अतिथिहरूले रंगीन र जटिल मिथिला चित्रहरू प्रदर्शनीको चासोका साथ अवलोकन गरे । प्रदर्शनीमा कुल ३३ मिथिला कलाकृतिहरू प्रदर्शन गरिएको थियो, जुन २० जुन २०२६ सम्म प्रदर्शनमा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×