काठमाडौँ । प्रतिनिधिसभा बैठक भोली सम्मका लागि स्थगित भएको छ । प्रतिपक्षीको अवरोधका कारण आजै १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी भोलि सम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकोले भोली दिनको १ बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध कायम राख्दै अवरोध गरेका थिए ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरोध शुरु गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो ।
सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो ।
उहाँले प्रतिपक्षीले उठाएका विषयमा सरकार पनि गम्भीर रहेको विश्वास रहेको भन्दै बैठकको कार्यसूची अगाडि बढाउन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।
बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लङ्घन गर्दै अभिव्यक्ति दिएको भन्दै भुल सुधार गर्नुपर्ने र क्षमा माग्नै पर्ने अडान राख्नुभयो ।
एमाले संसदीय दलका उपनेता अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आर्थिक विधेयकमा अर्थ मन्त्रालयले गरेको करको दर हेरफेरको विषय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले संसदमा दर्ता भएको आर्थिक विधेयकको १६ पृष्ठ गायब भएको, करका दर हेरफेर भएको भन्दै यो काम कसरी भयो र चुहावट कसरी भयो भन्ने विषयमा प्रश्न गर्नुभयो ।
सांसद शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन हुनुपर्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हट्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको तर्फबाट आफूहरूको अडान कायम रहेको भन्दै सभाको बैठक केही समय रोकेर छलफल गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसद्प्रति उत्तरदायी बनेर जवाफ दिनु माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याउन पर्ने माग गर्दै सिमानामा नेपाली सेना खटाउने र तैनाथ राख्नुपर्ने बताउनुभयो ।
सभामुख अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई बैठकलाई कार्यसूचीमा प्रवेश गराउन सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जारी राखेपछि उहाँले बैठक आजै १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली दिउसो १ बजे बस्ने छ ।

