बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ ।

बालुवाटारमा भएको फाइनलमा साइपाल एकेडेमीलाई ४–१ ले पराजित गर्दै बाँसबारी अन्तर स्कुल फुटसलमा च्याम्पियन भएको हो । उसले सेमिफाइनलमा ब्रुकलिन इन्टरनेसनल सेकेन्डेरी स्कुललाई ७–१ ले हराएको थियो भने साइपालले युनिभर्सल इंग्लिस स्कुललाई ३–२ ले पन्छाएको थियो ।

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा ब्रुकलिनले युनिभर्सललाई १–० ले पराजित गर्यो । नकआउटको आधारमा आयोजित प्रतियोगितामा १६ स्कुलले प्रतिस्पर्धा गरेका थिए । कामपा ४ का वडा अध्यक्ष दिनेश महर्जनलगायतले विजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

बाँसबारी माविका विवेक मगर प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी घोषित भए । साइपालका आदित्यकुमार मिश्रले बेस्ट गोलकिपरको पुरस्कार हात पारे ।

दुवै न्यु डायमन्ड फाइनलमा

टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको पहिलो सेमिफाइनलमा टिप टप न्यु डायमन्डले गणेश हिमाललाई २५–१८, २५–१० र २५–७ को सोझो सेटमा पराजित ग¥यो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा न्यु डायमन्ड एकेडेमीले सरस्वती स्कुल, हेलम्बुलाई सीधा सेटमा २५–१७, २५–१२ र २५–१० ले हरायो ।

फाइनल बुधबार हुनेछ । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×