चितवन । स्थापनाकालदेखि नै बैचारिक सिद्धान्तको विषयमा आलोचना सहदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुलवादमा आधारि सामाजिक लोकतन्त्रलाई आफ्नो वैचारिक गन्तव्य भएको स्पष्ट पारेको छ ।
चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति रवि लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत रास्वपाले बहुलवादमा आधारित ‘सामाजिक लोकतन्त्र’ लाई आफ्नो मूल राजनीतिक सिद्धान्त बनाएको हो ।
पार्टी स्थापना गर्दा रास्वपाले ‘संवैधानिक समाजवाद’ लाई आफ्नो सिद्धान्त मानेको थियो । घोषणापत्र र जलेश्वर बैठकको प्रस्तावनामा पनि ‘संवैधानिक समाजवाद’ लाई पार्टीको राजनीतिक सिद्धान्त भनिएको थियो । तर, महाधिवेशनको प्रतिवेदनमा सभापति लामिछानेले बहुलवादमा आधारित ‘सामाजिक लोकतन्त्र’ लाई पार्टीको मूल राजनीतिक सिद्धान्त भएको निष्कर्ष प्रस्तुत गरेका छन् ।

