राष्ट्रियता झल्काउने झन्डा कला महोत्सव

काठमाडौँ । नेपाली कलाकारको सिर्जनशील समूह ‘आर्ट बुम’ को आयोजनामा ‘झन्डा’ कला महोत्सव २०८३ अन्तर्गत विशेष कला प्रदर्शनी सुरु भएको छ ।

कला प्रदर्शनीमा नेपाल र संयुक्त अधिराज्य (बेलायत) का स्थापित कलाकारसहित करिब तीन सय जना विद्यालय तहका बालकलाकार र ३३ जना नेपाली वरिष्ठ कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् ।

राष्ट्रको पहिचान बोकेको झन्डाका विषयमा कलाकारले विगत एक वर्षदेखि निरन्तर रूपमा सिर्जना गरेका कला प्रदर्शनीमा भल्कन्छन् ।  

आर्ट बुमका संस्थापक एवं कलाकार रत्न शाक्यका अनुसार नेपाली कला जगत्लाई नयाँ ऐतिहासिक ‘मास्टर स्ट्रोक’ दिन यस्तो प्रयास गरिएको हो । संसारकै भिन्न र गौरवशाली नेपाली झन्डालाई कलात्मक रूपमा समाजमा प्रस्तुत गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

यस्ता खालका प्रदर्शनीले राष्ट्रिय झन्डाप्रतिको माया, सम्मान र सिर्जनात्मक अभिव्यक्ति झल्काउँछ । 

हाम्रो राष्ट्रिय झन्डाले नेपालीलाई मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्म एकतामा बाँधेको उहाँले बताउनुभयो । “भाषा, धर्मले होइन, झन्डाले मात्रै हामीलाई एकताको रूप दिन्छ । त्यसैले झन्डाको सम्मान गरौँ, यसको महत्व मनन गरौँ । हरेक नेपालीले आफ्नो घरमा गर्वका साथ राष्ट्रिय झन्डा फहराउन पाउने वातावरण बनाऔँ,” उहाँले भन्नुभयो ।

झन्डा केवल कला प्रदर्शनी मात्र नभई नेपालीपन, सिर्जनशीलता र राष्ट्रिय गौरवलाई रङ र रेखामार्फत अभिव्यक्त गर्ने साझा उत्सवका रूपमा रहने विश्वास गरिएको छ ।

वरिष्ठ कलाकार किरण मानन्धर, राधेश्याम मुल्मी, जीवनराज उपाध्याय, एनबी गुरुङ, उमेश श्रेष्ठ, रञ्जना लाल, सुषमाराज भण्डारी, आर्यराज भण्डारीलगायतका कलाकारको झन्डाका चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा पाँच हजारदेखि तीन लाख रुपियाँसम्मका चित्र राखिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×