ट्रेण्डिङ्ग:
|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै|नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान|बेलायत र फ्रान्सेली सरकारद्वारा इङ्लिस च्यानल हुँदै आप्रवासी क्रसिङ रोक्न ३ वर्षे सम्झौतामा हस्ताक्षर|डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन |कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता|प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा|प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

चीनको तिब्बतस्थित हिमताल फुट्दा रसुवागढीमा बाढी

चाँदनी हमाल, काठमाडौँ। नेपालमा हिउँ पग्लेर बाढी आउने क्रम बढेको छ, जसले यहाँ जनधनको क्षति हुने उच्च जोखिम बढाएको छ ।

मङ्गलबार बिहान छिमेकी चीनको तिब्बतस्थित हिमालबाट नेपाल–चीन सीमा क्षेत्र हुँदै ठुलो बाढी आयो । नेपालको रसुवादेखि ३५ किलोमिटरमाथि रहेको हिमनदीका बिचमा बनेको हिमताल फुटेर बाढीको सिर्जना भएको हो । हिउँ पग्लेर ठुलो ताल बनेपछि हिमनदीले बाढीको रूप लिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशराज भट्टले जानकारी दिनुभयो । हिमनदीको बाढी ल्हेन्देखोला हुँदै भोटेकोशी अनि त्रिशूलीबाट नेपालमा फैलिएको थियो ।

चीन र अन्य क्षेत्रबाट प्राप्त स्याटेलाइट तस्बिरहरूले पनि हिमतालको पानी नै बाढी बनेर नेपाल आएको देखाएको छ । आइतबारसम्म भरी देखिएको हिमताल बुधबारको तस्बिरमा आधाभन्दा बढी घटेर सानो देखिएको छ । आइतबार छ लाख ३८ हजार वर्गमिटर पानी रहेको हिमतालमा मङ्गलबार बाढी गएपछि चार लाख ३५ हजार वर्गमिटर मात्र बाँकी छ । अघिल्लो साता उक्त तालमा पाँच लाख २५ हजार वर्गमिटर क्षेत्रमा पानी रहेको पाइएको छ । उहाँले भन्नुभयो, “नेपालतिर बाढी बनेर निकास लिँदा ठुलो कुलेसो बनेको छ । जहाँ अहिले पनि बिचका केही स्थानमा थोरै पानी जमेको देखिन्छ ।”

हिमालको हिउँ पग्लेर बाढी आउनुको कारण जलवायु परिवर्तनको असर मानिएको कार्यकारी प्रमुख भट्टले बताउनुभयो । उता मुस्ताङको लोमन्थाङमा आएको बाढी पनि माथिल्लो भेगमा हिमताल फुटेको वा चुहिएको हुन सक्ने अनुमान गरिएको छ । पत्ता लगाउन जनप्रतिनिधिको टोली त्यसतर्फ गएको छ । गत जेठमा हुम्लाको तिलगाउँभन्दा माथिको हिमाली भेगमा दुई वटा हिमताल चुहिएर बाढी आएको थियो ।

विगतका वर्षमा पनि यी जस्तै नेपालका विभिन्न भूगोलका उच्च हिमालको बाढी गाउँ पसेका थिए । गत वर्ष २०८१ सालको साउन अन्तिम साता सोलुखुम्बुको हिमालमा हिमताल विस्फोट हुँदा थामे गाउँ बाढीले तहसनहस बनाएको थियो । २०७८ सालमा मेलम्चीदेखि माथिको हिमाली क्षेत्रमा हिमताल फुटेर बाढी आएको थियो । हिन्दकुश हिमालय क्षेत्रमा तालहरू बढ्ने र फुट्ने क्रम बढेकाले त्यसको छुट्टै अध्ययन हुनुपर्ने उहाँ औँल्याउनुहुन्छ ।

चाइनिज एकेडमी अफ साइन्सका वैज्ञानिक नितेश खड्काका अनुसार रसुवामा आएको बाढी माटो र हिउँले ढाकिएको सुप्राग्लेसियल हिमतालको पानी चुहिएर हिमनदीमा मिसिएको हो । उहाँका अनुसार जुनसुकै हिमाली भेगमा तापक्रमको उतारचढाव हुँदा बन्ने सुप्राग्लेसियल तालहरू गतिशील र अस्थायी प्रकृतिका हुन्छन् । तिब्बतमा देखिएका धेरै तालहरू सन् २०२१ भन्दा पहिले त्यहाँ थिएनन् । उहाँका अनुसार सन् २०२२ को तस्बिरमा देखिएका साना तालहरू बढ्दै २०२३ मा ठुलो ताल बनेको पाइएको उहाँले जानकारी दिनुभयो । सन् २०२४ मङ्सिरमा पूरै हराएको उक्त ताल गत शनिबार फेरि देखिएको हो ।

हिममण्डल अनुसन्धानकर्ता अमृत थापाका अनुसार रसुवामा बाढी आउनु केही दिनअघि हिमनदीको माथि धेरै मात्रामा हिउँ पग्लिएको पाइएको छ । गत शुक्रबार हिमालमा देखिएका हिउँ आइतबार सबै पग्लिएको तस्बिर विश्लेषणले देखाएको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “यसरी पग्लिएको हिउँ र बरफका ढिक्का हिमनदीमा बनेको ठुलो पोखरीमा जम्मा भएको र पोखरीको वरिपरिकोे जमिन कमजोर भएकाले थेग्न नसकेर बाढीका रूपमा नेपाल आएको अनुमान छ ।”

हिमनदीको सतहमा बनेको ठुलो पोखरीमा अहिले पनि पानी रहनुले उहाँको कुरा पुष्टि गरेको छ । गर्मी महिनामा तापक्रम वृद्धिसँगै हिउँ पग्लने क्रम बढ्छ र यही समयमा वर्षा पनि हुँदा हिमनदीमा बनेको ताल फुट्ने जोखिम हरेक हिमालमा कायम रहने उहाँ औँल्याउनुहुन्छ ।

नेपालको हिन्दकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असरका कारण तापक्रम बढ्दो छ, जसका कारण हिउँ पग्लने क्रम तीव्र बन्दै गएको अध्यता सुदीप ठकुरी बताउनुहुन्छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि नेपालमा हिमताल फुट्ने र चुहिने क्रम बढ्दै गएकाले तिनको निरन्तर अनुगमन र अध्ययन हुनुपर्ने जनाएको छ । नेपालमा मात्र २१ वटा जोखिमयुक्त हिमताल छन् । नेपाल पानीढलो भएर जोखिम बढाइरहेका अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ४७ वटा हिमताल छन् । सन् २०१५ यता हिमतालको अध्ययन भएको छैन ।

  himalayanvoice.com | २६ असार २०८२, बिहीबार ००:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online