मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका कृषक आङ्ग्याल गुरूङ च्याङ्ग्रा लिएर छिमेकी जिल्ला म्याग्दीको सिमाना घाँसासम्म आउन १० दिन लाग्यो । 

गोठमै पुगेका व्यापारीलाई एक सय च्याङ्ग्रा बेच्नुभएका गुरूङले व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि गरेको गुनासोपछि दुई सय च्याङ्ग्रा सिधै उपभोक्तालाई बेच्ने गरी हिँड्नुभएको छ । १८ वर्षदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरूङ मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानी हुँदै घान्दुकबाट पोखरासम्म पुगेर च्याङ्ग्रा बेच्ने गरी हिँडेको बताउनुभयो । उपल्लो मुस्ताङका १० भन्दा बढी कृषक अहिले बजारमा च्याङ्ग्रा बिक्री गरिरहनुभएको छ ।

कृषक गुरूङले भन्नुभयो, “बिचौलियाहरूले मूल्यमा चलखेल गरेको पाइयो, अब उपभोक्तालाई नै रोज्जा च्याङ्ग्रा ३५ हजारसम्म दिने गरी बजारमा आएका छौं ।” कृषक गुरूङले प्रति केजी गत वर्षको तुलनामा सस्तो दिने गरी उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका कृषक नै बजारमा आएको बताउनुभयो । चार जना गोठालोलाई मासिक ज्यााला, पदैलमार्गबाट बिक्रीमा लैजादाँ लाग्ने अतिरिक्त खर्च तथा घाँस लगायत गोठ सुधारमा खर्च कटाएर वार्षिक ३५ देखि ४० लाख आम्दानी हुने कृषक गुरूङको भनाइ छ ।

मुस्ताङका कृषकले न्यूनतम ३० हजारदेखि ३५ हजारसम्मका च्याङ्ग्रा उपभोक्तालाई उपलब्ध गराएपछि उपभोक्ताले समेत राहत महसुस गरेका छन् । कृषकले गोठबाट सिधै उपभोक्तालाई बिक्री गर्दा बिचौलियाको भन्दा ५ देखि १० हजार सस्तो पाइएको छ । यसपटक मुस्ताङका कृषक नै गोठबाट च्याङ्गा लिएर म्याग्दी, बागलुङ, पर्वत, कास्की सहित देशका विभिन्न जिल्लामा पुगेका छन् ।

करिब २ वर्षसम्म  गोठमा हुर्काएका च्याङ्ग्रालाई बजारमा बिक्री गर्दा उपभोक्तालाई समेत सस्तो र सोचेजस्तै आम्दानी हुने भएकाले समुह बनाएर व्यापारी सहर पसेका छन् । दसैँलाई लक्षित गरी यस वर्ष मुस्ताङबाट १२ हजार बढी च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा.लालमणि अर्यालले बताउनुभयो।

केन्द्रका प्रमुख अर्यालका अनुसार घटस्थापनाको दिनसम्म सबै बाहिरिने बताउनुभयो । यस वर्ष मुस्ताङ र छिमेकी जिल्लाबाट आएका भेडाच्याङ्ग्राबाट करिब ४० करोडभन्दा बढी भित्रिने अनुमान गरिएको छ । हालसम्म स्वास्थ्य परीक्षण गरिएका भेडाच्याङ्ग्रा स्वस्थ्य रहेको केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभर १ सय कृषक सूचिकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा रहेकोमा मासुजन्य प्रयोजनका लागि सूचिकृत कृषक र सूचिकृत नभएका कृषकहरूले समेत भेडाच्याङ्ग्रा निकासी हुन्छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेशगरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने उपभोक्ताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×