पाँच प्रदेशमा उच्च सतर्कता : जोखिमयुक्त स्थानमा यात्रा नगर्न आग्रह

काठमाडौँ  । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई कतिपय स्थानमा भारी वर्षा र अति भारी वर्षा हुन सक्ने देखिएको छ।

सुरक्षा निकाय र विपद व्यवस्थापन निकायलाई उद्धार र राहतमा उच्च सक्रियताका साथ तयारीमा रहन निर्देशन।
यस क्रममा नारायणी, बागमती, कमला र कोशी नदीसहितका सहायक नदीमा पानीको सतह बढ्न सक्ने र खतरा तह नजिक पुग्ने अनुमान गरिएको छ।

त्यस्तै, मधेश प्रदेशका महाभारत र चुरे हुँदै बग्ने स–साना नदीमा आकस्मिक बाढी र खहरे खोलाको जोखिम उच्च रहेको चेतावनी दिइएको छ। काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा डुबान तथा आकस्मिक बहावको सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

सचिवालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर विरामीलाई सुरक्षित स्थानमा सार्न विशेष ध्यान दिन र आधिकारिक निकायले जारी गर्ने सूचनाको पालना गर्दै जोखिमयुक्त स्थानमा यात्रा नगर्न अनुरोध गरेको छ।

यस्तै, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूलाई पूर्वतयारी, प्रतिकार्य, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्य प्रभावकारी रूपमा सम्पादन गर्न समेत निर्देशन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×