मधेशमा पानी परेपछि धान रोपाइँ दोब्बर

जनकपुर । पानी परेपछि मधेश प्रदेशमा धान रोपाइँ भएको क्षेत्रफल करिब दोब्बर भएको छ । यसै साता भएको भारी वर्षा र त्यसपछिका नियमित सामान्य वर्षाले धान रोपाइँ बढेको हो । मधेश प्रदेशमा साउन १६ गतेदेखि २३ गते शुक्रबारसम्म सात दिनमै ३३.८१ प्रतिशत विन्दुले बढेर अहिलेसम्ममा कुल खेतीयोग्य जमिनको ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि विकास निर्देशनालय नकटाझिझले जनाएको छ । गत १६ गतेसम्म मधेशमा कुल ४२.७३ प्रतिशत हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको थियो ।

अघिल्लो सातासम्म मधेशमा ५७.२७ प्रतिशत हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा धान रोपाइँ बाँकी रहेकामा २३.४६ प्रतिशत मात्र धान रोपाइँ गर्न बाँकी रहेको मधेश प्रदेशको कृषि विकास निर्देशनालय नकटाझिझका प्राविधिक सहायक प्रतिभाकुमारी यादवले बताउनुभयो ।

पानी परेपछि सबै कामलाई थाति राखेर धान रोपाइँमा लागेकाले धेरै खेत रोपेको कमलाका किसान इन्द्रदेव यादवले बताउनुभयो । “एक बिघामध्ये अब पाँच कट्ठामा मात्र रोप्न बाँकी रहेको छ । खेत भिजेको छ । हिलाम्मे गर्न थौरबहुत पानी आए त्यो पाँच कट्ठामा रोपाइँ सक्छु,” उहाँले भन्नुभयो । अर्का किसान कारी यादवका अनुसार अब एक पटक फेरि राम्रो वर्षा भयो भने यो वर्षको पूरै धान खेती सकिने बताउनुभयो । “खेतमा चिस्यान पुगेको छ तर धान रोप्ने गरी हिल्याउन थप पानीका लागि नहर, कुलोपैनी, स्यालो ट्युबेल, डिप बोरिङ चलाउनु पर्ला । आकाशबाटै आए त झनै आनन्द हुने थियो,” उहाँले भन्नुभयो । मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×