उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।

प्रदर्शनीमार्गको भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले राति करिब ९ः०० बजे प्रारम्भिक नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यमा उहाँहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ ।

पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ । एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×