उहिले उहिले
सिउरेकै हो रातो गुराँस
तिम्रो सिउँदोमा
बाढीमा खियाउँदै डुङ्गा
तरेकै हो
कोशीको गहिरो नदी
कुहिरो भएर
घुमिएकै हो
बेहुली झैँ सजिएको
राताम्मे गुराँसे डाँडा
शीतल छाल भएर चुमेकै हो
बगरको तृषित ओठ
झरीले नुहाएका
जूनताराहरू जस्तै
नुहाएकै हो छहरे झर्ना
चढाइएकै हो देउरालीमा पाती
त्यतिबेला अनुभूत गरिएन
सौन्दर्य, सन्तुष्टि र आनन्द
आज प्राकृतिक सौन्दर्यमा रमाएका
इन्द्रेणी अनुहारहरू देख्दा
सम्झिरहेछु
अतीतको कुहिरोमा हराएको
मिठो स्मृति
केही गुमेपछि मात्र हुँदो रहेछ
खुसी हराउनुको पीडा
र एउटा अभावको अनुभूति
अहिले तिमी छैनौ
तिमी नभएपछि मात्र
थाहा भएको छ
सौन्दर्य र प्रेमको मूल्य ।

